प्याजको मूल्य २४ घण्टामै दुई गुणाले बढ्यो

इन्भेष्टोपेपर ।  असाैज ०१, २०७७

भैरहवा । भारतले प्याज निर्यातमा रोक लगाएसँगै व्यापारीले कालोबजारी सुरु गरेका छन्। भारतले गत वर्षको असोज महिनामा पनि प्याज निर्यातमा रोक लगाएको थियो।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले सोमबारसम्म प्याज आयात भए पनि मंगलबारदेखि भारतबाट प्याजका गाडी नआएको बताए। उनका अनुसार यस नाकाबाट दैनिक १२-१५ वटा प्याजका गाडी भित्रिने गरेका थिए।

भारतबाट प्याज आयात रोकिएपछि करिब दुई हप्ताअघि ३५ रुपैयाँ प्रतिकिलो रहेको प्याज व्यापारीले बुधबार बिहानसम्म प्रतिकिलो १ सय २० रुपैयाँसम्म पुर्‍याए। यो मूल्य अझै बढ्ने सम्भावना छ। भारतले निर्यातमा रोक लगाएसँगै व्यापारीले २४ घण्टाभित्र प्याजको मूल्य दुई गुणले बढाएका हुन्।

कृत्रिम अभाव गराएर व्यापारीले प्याजमा कालोबजारी गरिरहेको उपभोक्ताहरू बताउँछन्। ‘एक-दुई दिनभित्र प्याज छोइनसक्नु भएको छ’, ओमसतिया गाउँपालिकाका स्थानीय अच्युत आचार्यले भने, ‘यस्तो महामारीमा पनि कालोबजारी गर्ने व्यापारीलाई तत्काल कारवाही गर्नुपर्छ।’

यस क्षेत्रका व्यापारीले पुरानै स्टकको प्याजमा आफूखुसी मूल्य बढाएका हुन्। स्थानीय खुद्रा व्यापारीका अनुसार दुई हप्तामा प्याजको प्रतिकिलो मूल्य क्रमशः ३५, ५०, ६०, ७० देखि ह्वात्तै १ सय २० रुपैयाँसम्म पुगेको छ।

भैरहवा तथा आसपास क्षेत्रका अधिकांश व्यापारीले मूल्य बढ्ने अवस्था देखेपछि प्याजको प्रतिकिलो ४३ रुपैयाँमा प्याज आयात गरी भण्डारण गरेका थिए। ४३ रुपैयाँ प्रतिकिलोमा आयात भएको प्याजलाई पनि उपभोक्ताले १ सय २० रुपैयाँ तिर्न बाध्य छन्।

रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बजार अनुगमन समितिका संयोजक विजय पौडेलले प्याजमा कालोबजारी भइरहेको सूचना प्राप्त भएसँगै अनुगमन सुरु गरिएको बताए। उनले विभिन्न क्षेत्रमा अनुमगन गर्ने बताउँदै कालोबजारी गरेको पाइए कारबाही हुने बताए।

भैरहवा नाकबाट आयात हुने प्याज काठमाडौं, पोखरा, चितवन, बाग्लुङ, बेनी, स्याङजालगायत स्थानमा जाने गर्छ। ( आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट )

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *