बुद्ध एयरले मंसिर १५ देखि प्रादेशिक हवाई उडान भर्ने

Investopaper, मंसिर ०९, २०७६

बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ। एयरले मङ्सिर १५ गतेदेखि विराटनगर र भद्रपुरबाट काठमाण्डौ तथा पोखराका लागि उडान भर्ने तयारी गरेको छ।

आइतबार आयोजित कार्यक्रममा भद्रपुर र विराटनगरदेखि पोखरासम्मको ट्रान्जिट फ्लाइटसम्बन्धी बोल्दै बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले परीक्षणस्वरुप सो कार्य छ महिना सञ्चालन गरिने बताएका थिए। कम्पनीले नोक्सान व्यहोर्नुपर्ने स्थिति नभएमा सधैँ सेवा जारी राख्ने उनले जानकारी दिए।

प्रदेश सरकारको आग्रहमा नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउन उक्त सेवा सञ्चालनमा ल्याउँदा आन्तरिक र बाह्य पर्यटकलाई विशेष फाइदा पुग्ने निर्देशक बस्नेतको भनाइ थियो। शुरुमा हप्तामा तीन दिन सो सेवा सञ्चालन गर्ने बस्नेतले बताए।

सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सबै सेवामा आमनागरिकको पहुँच पु¥याउनु नै समृद्धिको शुरुआत भएको बताएका थिए। उनले सो सेवालाई दिगो र प्रभावकारी बनाउन प्रदेश सरकारले भूमिका निर्वाह गर्ने भन्दै विराटनगर विमानस्थललाई स्तरोन्नति गर्ने जानकारी दिए। विराटनगर विमानस्थलको धावनमार्गलाई दुई हजार ४०० मिटर बनाउन प्रदेश सरकारले पहल गरिरहेको उनको भनाइ थियो।

सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बुद्ध एयरले विराटनगर र काठमाण्डौदेखि पोखरा सेवालाई सीधा सेवा शुरु गर्नसके सेवाग्राही लाभान्वित हुने बताए। उनले यसबाट सेवाग्राहीलाई खर्च पनि कम हुने र गन्तव्यमा पनि पुग्न सजिलो हुने भएकाले यसतर्फ कम्पनीको ध्यानाकर्षण गराएका थिए।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले अहिले हरेक नागरिकको आय वृद्धि भइरहेकाले बुद्ध एयरले डराउनु पर्ने स्थिति नरहेको चर्चा गर्दै भारतको विहार प्रान्तको पटनामा मात्र विमानस्थल भएकाले भारतीय नागरिकले पनि प्रशस्त लाभ लिन सक्ने बताएका थिए।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *