राष्ट्रिय वाणिज्य बैङ्कले तीन अर्बको डिबेन्चर निष्कासन गर्ने
इन्भेष्टाेपेपर । कात्तिक २१, २०८२
काठमाडौँ । सरकारकाे स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र ‘छ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ को निष्कासन गर्ने भएको छ । ऋणपत्रको वार्षिक ब्याजदर छ प्रतिशत र अवधि सात वर्षको रहने सम्झौतापत्रमा उल्लेख छ ।
बैङ्कले एक हजार रुपियाँ अङ्कित दरको ३० लाख कित्ताले हुन आउने सो रकम बराबरको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिहीबार राष्ट्रिय वाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा सो सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा रावा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभयो । जारी गर्ने ऋणपत्रमध्ये ६० प्रतिशत संस्थागत तथा व्यक्तिगत तर्फ र बाँकी ४० प्रतिशत सर्वसाधारणका लागि निष्कासन गरिने बैङ्कले जनाएको छ ।
