लोक गायन रियालिटी सो ‘नेपाल लोकस्टार’ : असार १२ गतेबाट प्रशारण हुने
Investopaper, असार ०३, २०७६
काठमाडौं – एपीवान टेलिभिजनबाट प्रसारण हुन लागेको लोक गायन रियालिटी सो ‘नेपाल लोकस्टार’को असार १२ गतेबाट प्रशारण हुने भएको छ । सात प्रदेशमा भएको अडिसनबाट ३ सय ६३ जना प्रतिस्पर्धी मेगा अडिसनका लागि छनोट भएका थिए ।
यही मेगा अडिसनबाट ९० जना प्रतिस्पर्धी अन्तिम प्रतिस्पर्धाका लागि छानिएका थिए । यिनै प्रतियोगीहरू बिच पहिलो लोकस्टारको उपाधिका लागि भिडन्त हुने कार्यक्रम संयाेजक सहदेव काेइरालाले बताए ।
लोकसंगीतको विकास र प्रवद्र्धनमा लागेको चाहना मिडियाले कार्यक्रमको आयोजना गरेको हो । मुलुकका विभिन्न भागमा सुनिने गाईने लोकसंगीतलाई लोकस्टारमा समावेश गरिने आयोजकको योजना रहेको छ । । ३० वटा शृंखला प्रसारण हुने कार्यक्रममा एकतीसौँ शृंखला अन्तिम हुनेछ ।
प्रतिस्पर्धी छनोटको अधिकार उत्कृष्ट ५० जना सम्म निर्णायकको हातमा रहनेछ । उत्कृष्ट ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा आधारित रहने आयोजक संस्थाले जनाएको छ ।
त्यसैगरि ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा आधारित हुनेछ । उत्कृष्ट २० बाट १० सम्म ५० प्रतिशत निर्णायक र ५० प्रतिशत दर्शकको भोटिङमा आधारित हुनेछ ।
उत्कृष्ट १० बाट फाइनलसम्म दर्शकको भोटको आधारमा लोकस्टारको छनोट हुने निर्णायक मध्येकी गायिका सुनिता दुलालले बताइन् ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः ५० लाख, २५ लाख र १० लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिताको निर्णायकमा जयनन्द लामा, बीबी अनुरागी, रामजी खाँण र सुनीता दुलाल रहेका छन् ।
