राेजगारमा जानेकाे संख्या घट्याे, विप्रेषण आप्रवाह २० प्रतिशतले बढ्यो

Investopaper, असार ०५, २०७६ 

काठमा‍ण्डौ – वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले वृद्धि भएको उल्लेख छ । 

बैंकका अनुसार दश महिनाको अवधिमा सात खर्ब २५ अर्ब ३० करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.३ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १०.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय १९.४ प्रतिशतले वृद्धि भई आठ खर्ब २६ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आय ०.१ प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या छ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने समीक्षा अवधिमा ५.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो सङ्ख्या २.२ प्रतिशतले घटेको थियो ।

  • रासस
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *