रिभर्स रिपो मार्फत पुनः २० अर्ब खिच्दै राष्ट्र बैंक
इन्भेष्टोपेपर । श्रायण २३, २०७७
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा तरलता थुप्रिँदै गएपछि साउन दोस्रो साता यताको अवधिमा दुईपटक गरी ४० अर्ब रुपियाँ खिच्दै छ ।
रिभर्स रिपोमार्फत एक साता अगाडि बैङ्कहरूबाट २० अर्ब रुपियाँ खिचिसकेको राष्ट्र बैङ्कले फेरि २० अर्ब रुपियाँ रकम खिच्न लागेको हो । सात दिन अवधि रहने रिभर्स रिपोमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले अक्सनमा भाग लिनसक्ने राष्ट्र बैङ्कले बिहीबार जारी गरेको सर्कुलरमा उल्लेख छ ।
आगामी सात दिनको अवधिको उक्त रिभर्स रिपो एक सातापछि अर्थात् साउन २९ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ । जारी गरिने रिभर्स रिपो लिन चाहने बैङ्कले बिहीबार दिउँसो २ः०० बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्नसक्ने व्यवस्था गरिएको थियो ।
