कर्मचारी समायोजन अदालतबाट उल्टिन थाले

इन्भेष्टोपेपर । भाद्र १३, २०७७

काठमाडौं । कर्मचारी समायोजन उल्टिन थालेको छ । एकातिर सरकारले कर्मचारी समायोजन संशोधनको नीतिगत निर्णय गरेको छ भने अर्कोतिर अदालतले समायोजन भएर प्रदेशमा गएका कर्मचारीलाई संघमै फिर्ता गराउने फैसला गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायका प्रवक्ता एवं सहसचिव बसन्त अधिकारीले आधिकारिक रूपमा नीतिगत निर्णय प्राप्त नभएको बताए । ‘समायोजनका विषयमा धेरै गुनासा आएकोले नीतिगत रूपमै समस्या समाधानको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगिसकेका छौं’, प्रवक्ता अधिकारीले भने,‘औपचारिक निर्णय प्राप्त भएको छैन ।’

मन्त्रालयमा ६ सय कर्मचारीले समायोजन संशोधनका लागि निवेदन दिएका छन् । प्रवक्ता अधिकारीका अनुसार १ हजार कर्मचारीको संघबाट प्रदेश वा स्थानीय तहमा समायोजन हुन सक्नेछन् ।

प्रस्तावमा कुनै प्रदेशमा समायोजन भएको कर्मचारी समायोजन भएको हालको प्रदेशबाट अर्को प्रदेश र कुनै स्थानीय तहमा समायोजन भएको कर्मचारी समायोजन भएको हालको स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन मिलानका लागि गुनासो गरेमा मन्त्रालयले मिलान गर्ने उल्लेख छ ।

गुनासो गर्ने कर्मचारीको समायोजन भएको सम्बन्धित प्रदेश र समायोजन मिलान हुन चाहेको अर्को प्रदेशको दोहोरो सहमति हुनुपर्ने छ । स्थानीय तहको हकमा पनि समायोजन भएको सम्बन्धित स्थानीय तह र समायोजन मिलान हुन चाहेको अर्को स्थानीय तहको दोहोरो सहमति हुनुपर्ने व्यवस्था छ ।

संघमा समायोजन भएका र तीन वर्ष वा सोभन्दा बढी सेवा अवधि बाँकी रहेका कर्मचारी प्रदेश वा स्थानीय तहमा समायोजन हुन चाहेमा प्रदेश वा स्थानीय तहको स्वीकृत दरबन्दीमा सम्बन्धित प्रदेश वा स्थानीय तहकोसहमतिमा समायोजन मिलान गर्ने व्यवस्था पनि गरिएको छ ।

साबिकको घरेलु तथा साना उद्योग विकास समिति, दुर्गम क्षेत्र विकास समिति, जिल्ला विकास समितिका कर्मचारीलाई ७७ वटै जिल्लाका पद मिल्दो स्थानीय तहमा समायोजन गर्ने प्रस्ताव पनि मन्त्रालयको छ ।

प्रवक्ता अधिकारीले कतिपय मर्कामा परेका कर्मचारीलाई ऐन अनुसार नै बाधा अडकाउ फुकाउन खोजेको बताए । (आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *