विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा र संयोजकमा सञ्जिववल्लभ भट्टराई चयन

इन्भेष्टाेपेपर ।  साउन ३० २०७९

काठमाण्डाैँ । विवेकशील साझा पार्टीले नयाँ नेतृत्व चयन गरेको छ। पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको २९ गते बसेको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति सदस्य समीक्षा बास्कोटालाई नयाँ अध्यक्ष चयन गरेको हो। त्यसै गरी रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का सदस्य सञ्जिववल्लभ भट्टराई चयन भएका छन्।

विवेकशील साझा पार्टी, बागमती प्रदेशकी पूर्व संयोजक ३८ वर्षीय बास्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार थिइन्। त्यसअघि उनले २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेर २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन्। उनले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छिन्।

संयोजक चयन भएका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य भट्टराईले समाजशास्त्र,अर्थशास्त्र र अङ्ग्रेजी भाषामा स्नातक गरेका छन्। ३४ बर्से भट्टराई तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको नीति विभाग प्रमुख थिए।

केन्द्रीय समिति बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रबाट स्थापनादेखि आजसम्म पार्टी निर्माणमा भएको अनवरत त्याग, योगदान तथा समग्र पार्टी पङ्क्तिलाई दिएको प्रेरणाप्रति उच्च सम्मान व्यक्त गर्दै आगामी मार्गमा सफलताको हार्दिक शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ।

बैठकले आउँदो मङ्सिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने र त्यसका लागि आवश्यक तयारी थाल्ने पनि निर्णय गरेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *