पर्वतारोहणका लागि नयाँ हिमाल खुलाउँछौँ : पर्यटनमन्त्री श्रेष्ठ

इन्भेष्टाेपेपर ।  साउन ३० २०७९

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्वतारोहणका लागि हिमाल क्रमशः खुला गर्दै जाने बताउनुभएको छ । 

नेपाल पर्वतारोहण सङ्घको ३१ औँ र ३२ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा उहाँले आरोहणका लागि हाल खुला गरिएकाबाहेक थप हिमाल तथा चुलीहरु खुला गर्दै जाने सरकारको नीति रहेको बताउनुभएको हो । “अहिले आरोहणमा नरहेका पाँच हजार आठ सय मिटर उचाइदेखि आठ हजार मिटर उचाइसम्मका हिमाल आरोहण अनुमति दिनका लागि मन्त्रालयले योजना अगाडि बढाएको छ, आरोहणका लागि कुन कुन हिमाल उपयुक्त हुनसक्छन् तिनको आरोहण अनुमति प्रक्रिया अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो । 

मन्त्री श्रेष्ठले नेपालका हिमाल तथा चुलीहरु विदेशी पर्यटक आकर्षक गर्ने महत्वपूर्ण माध्यम भएकाले पर्वतारोहणको विकास तथा प्रवद्र्धनमा सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने पर्यटन विदेशी मुद्रा आर्जनका साथै रोजगार सिर्जना गर्ने माध्यम बनेको उहाँको भनाइ छ । 

उहाँले साहसिक पर्यटनको विकास गर्दै नेपाललाई विश्वको पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो । हाल नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित चार सय १४ हिमाल आरोहणका लागि खुला गरिएको छ । मन्त्री श्रेष्ठले कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सरकारले ७४ बुँदे योजना बनाएर त्यसको कार्यान्वयनका लागि अगाडि बढाएको बताउनुभयो । 

पर्यटन मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बा पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनुभयो । 

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीलगायतले पर्यटन क्षेत्रलाई सुदृढ र गुणस्तरीय सेवा प्रवाहका लागि सरोकारवालाबीच सहकार्य र समन्वयको खाँचो रहेको बताउनुभएको थियो । 

सङ्घका अध्यक्ष निमा नुर्बु शेर्पाले पर्वतीय पर्यटनको विकासका लागि सङ्घले विगत चार दशकदेखि सक्रिय रहँदै आएको बताउनुभयो । विसं २०३० कात्तिक १५ गते स्थापना भएको सङ्घमा हाल देशभर दुई हजारभन्दा बढी पर्वतीय पर्यटन व्यवसायी आबद्ध छन् । सोही कार्यक्रममा पर्वतीय पर्यटनमा विशेष योगदान पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *