कृषि औजार र मल कारखानाका लागि जग्गा खोजी

इन्भेष्टोपेपर । माघ १०, २०७८

हेटौँडा ।  बागमती प्रदेश सरकारले कृषि औजार र रासायनिक मल कारखाना स्थापनामा चासो देखाएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कृषि औजार र रासायनिक मल कारखाना स्थापनाका लागि उपयुक्त जग्गाको खोजीको क्रममा आइतबार हेटौँडा औद्योगिक क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ ।

मुख्यमन्त्री पाण्डेसँगै रासायनिक मल कारखाना स्थापनामा लगानी गर्न इच्छुक थाइल्यान्डका लगानीकर्तासहितको टोली सहभागी रहेको थियो ।

मुख्यमन्त्री पाण्डेले बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग, वनस्पति घिउ उद्योग, उद्योग स्थापना गर्न सम्झौता गरेको लामो समयसम्म उद्योग स्थापनाका लागि पूर्वाधार निर्माण सुरु नगरेको साउथ एसिएन ब्रुअरी उद्योगलगायतका खाली जग्गा हेरेको छ । औद्योगिक क्षेत्रमा खाली जग्गाको निरीक्षण गर्दै कृषि औजार र रासायनिक मल कारखाना स्थापनाका लागि उपयुक्त र आवश्यक जग्गा भए/नभएकोबारेमा जानकारी लिनुभएको थियो ।

प्रदेशको गठबन्धन सरकारको साझा कार्यक्रममा सङ्घीय सरकार र निजी क्षेत्रसँगको संयुक्त लगानीमा बागमती प्रदेशमा रासायनिक मल कारखाना स्थापनालाई प्राथमिकतामा राखेसँगै मल कारखाना स्थापना गर्न पहल थालिएको हो ।

मुख्यमन्त्री पाण्डेले सम्भाव्यताका आधारमा सङ्घीय सरकार र निजी क्षेत्रको साझेदारीमा कृषि औजार कारखाना स्थापना गर्ने संयुक्त सरकारले साझा नीति तथा कार्यक्रमअनुसार जग्गा खोजीमा लागेको जानकारी दिनुभयो ।

भ्रमणका क्रममा कृषि औजार कारखानाका लागि आवश्यक जग्गा रहे पनि रासायनिक मल कारखानाका लागि हेटौँडा औद्योगिक क्षेत्र र निर्माणाधीन मयूरधाप औद्योगिक क्षेत्रको जग्गा अपुग हुने भएकाले प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्र उपयुक्त हुने सुझाइएको छ ।

हेटौँडा औद्योगिक क्षेत्रका क्षेत्र व्यवस्थापन लिमिटेडका राजेन्द्र कँडेलले औद्योगिक क्षेत्रको अवस्थाबारे जानकारी गराउँदै कृषि औजार कारखानाका लागि आवश्यक जग्गा उपलब्ध हुने बताउनुभएको थियो ।

यसअघिको प्रदेश सरकारले कृषि औजार कारखाना स्थापनाका लागि नीति तथा कार्यक्रममा राखेर विस्तृत परियोजना प्रस्ताव तयार गरी हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्ने सार्वजनिक गरे पनि सरकार परिवर्तनसँगै रोकिएको थियो । प्रदेश सरकारले तयार गरेको विस्तृत परियोजना प्रतिवेदनअनुसार कृषि औजार कारखाना स्थापना लागत ३६ करोड रुपियाँ रहेको छ ।

प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले सरकारको कार्यक्रमअनुसार पुनः कृषि औजार कारखाना स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

कृषि औजार कारखाना सङ्घीय सरकारको समपूरक अनुदानमा स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदनसहितको प्रस्ताव प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाइएको जानकारी दिँँदै उहाँले भन्नुभयो, “आर्थिक मामिला तथा योजना मन्त्रालय हुँदै प्रदेश मन्त्रिपरिषद्बाट निर्णय भएर सङ्घीय सरकारबाट समेत समपूरक अनुदानका लागि स्वीकृत भएर आएमा कारखाना स्थापनाका लागि थप प्रक्रिया अगाडि बढ्नेछ । ” याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *