बचतमा उदासिन अमेरिकी नागरिकका सात रोचक वित्तीय तथ्य

Investopaper, भाद्र ०७, २०७६

१. धेरै अमेरिकीको बचत १ हजार डलरभन्दा कम हुने गर्छ : 

‘इम्प्लोई बेनिफिट रिसर्च इन्स्टिच्युट’ले गरेको अध्ययनले एकतिहाइ अमेरिकीको सेवा निवृत्ति समयको बचत १ हजार डलरको हाराहारीमा रहेको पाइएको छ । सो अध्ययनले ३६ प्रतिशत अमेरिकीसँग सेवा निवृत्ति हुँदाको समयमा केवल १ हजार डलर मात्रै बचत रहेको देखाएको हो । 

२. धेरैजसो अमेरिकी जीवनभर काम गर्ने योजनामा हुन्छन् : 

‘वेल्स फारगो’ले गरेको सर्वेक्षणअनुसार धेरैजसो अमेरिकीसँग सेवा निवृत्ति हुने समयका लागि पर्याप्त बचत नहुने भएकाले कम्तीमा आधा अमेरिकी नमरेसम्म काम गर्ने योजना बनाएका हुन्छन् । सर्वेक्षणमा ३४ प्रतिशतले कम्तीमा ८० वर्षसम्म काम गर्ने र ३७ प्रतिशतले नमरेसम्म काम गरिरहने उल्लेख छ ।

३. शैक्षिक ऋणमा १ खर्ब : 

विद्यार्थीले लिएको शैक्षिक कर्जा खर्बको हाराहारीमा छ । लगभग १४ प्रतिशत विद्यार्थीसँग कम्तीमा अघिल्लो लोनको भुक्तानी बाँकी हुने गरेको देखिएको छ । आश्चर्यचाहिँ के हो भने ऋण लिएका पाँचमा दुई विद्यार्थीले पहिलो पाँच वर्षमा आफ्नो ऋण चुक्ता गर्न असफल हुने गरेका छन् । 

४. अमेरिकीहरू बचतभन्दा ऋण धेरै राख्छन्

धेरैजसो अमेरिकीसँग ‘इमर्जेन्सी’ अर्थात् भइपरीका लागि बचतभन्दा पनि क्रेडिट कार्ड र अन्य ऋणको किस्ता बाँकी हुने गरेको छ । करिब ३० प्रतिशत अमेरिकीले आफूसँग खातामा रहेको बचतभन्दा बढी क्रेडिट कार्डको बाँकी बढी रहेको बताएका छन् । अमेरिकीहरू पर्याप्त बचत गर्दैनन् र धेरै नै खर्च गर्छन् ।

५. बचत गर्नेले पनि पर्याप्त गर्दैनन् : 

‘कर्पाेरेसन फर इन्टरप्राइज डेभलपमेन्ट’ले सार्वजनिक गरेको एउटा अध्ययन प्रतिवेदनले अमेरिकामा ४४ प्रतिशत परिवारले तीन महिनाभन्दा कमको बचत गर्छन् । सो अध्ययनले उनीहरूलाई न्यून बचत भएका ‘तरल सम्पत्तिका गरिब’ भनी उल्लेख गरेको छ ।

६. धेरैजसो अमेरिकीहरू निवृत्ति योजना बनाउँदैनन् : 

‘चार्ल्स स्केवाब कर्प’ले अमेरिकीहरू आफूले सही ढंगले बचत गरेको छु कि छैन भन्नेमा कत्तिको आश्वस्त छन् भन्ने अनुसन्धान गरेको थियो । उनीहरूको सर्वेक्षणले ४६ प्रतिशतलाई आफ्नो पैसा कहाँ लगानी गर्ने नै थाहा छैन भने ३४ प्रतिशतले लगानी गर्नमा तनाव महसुस गर्ने गरेका छन् । मानिसहरू आफ्नो बचतलाई कहाँ लगानी गर्ने भन्नेमा अन्योल हुने गरेकाले पनि उनीहरूले ‘रिटायरमेन्ट’को समुचित योजना बनाउन नसकेको अध्ययनले निष्कर्ष निकालेको छ । 

७. इच्छापत्र : 

आधा अमेरिकीले मात्रै ‘इच्छापत्र’ लेखेर छाड्ने गरेका छन् । परिवारका ‘इच्छापत्र’ नलेख्ने कुनै सदस्यको असामयिक निधन हुँदा उसको सम्पत्ति एवं पैसा कसरी वितरण गर्ने भन्ने अन्योल हुने गरेको छ । इच्छापत्रविनै कसैको मृत्यु भयो भने परिवारका सदस्यहरूबीच विवाद बढ्ने र सम्पत्तिका लागि झगडा हुने गरेको छ ।

— नयाँ पत्रिकाबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *