पौष्टिक तत्वले भरपुर अँगुरः मुटु, मृगाैला स्वस्थ बनाउँछ, क्यान्सरबाट बचाउँछ
Investopaper, भाद्र ०७, २०७६
अँगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अँगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।
१. तपाईंको मुटु स्वस्थ हुन्छः
अँगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।
बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।
२. तपाईंको पाचनक्रिया बलियो हुन्छः
अँगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अँगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अँगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।
३. तपाईंलाई उर्जावान् राख्छः
अँगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अँगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।
४. तपाईंको मृगौला स्वस्थ रहन्छः
अँगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।
नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अँगुर खानुपर्ने सल्लाह दिएको छ ।
५. विभिन्न क्यान्सरबाट जोगाउँछः
पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अँगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।
६. सास फेर्न सहज बनाउँछः
सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।
— एजेन्सी/पत्रपत्रिका
