होटेल सारथी र सिटिजन्स क्यापिटल लिमिटेडबीच शेयर निष्कासन सम्वन्धि सम्झौता

न्भेष्टाेपेपर ।  वैशाख ९, २०८२

काठमाण्डाैँ । होटेल सारथी प्रा.लि. र सिटिजन्स क्यापिटल लिमिटेडबीच आईपीओ जारी गर्ने प्रक्रियाका लागि जारी तथा निर्गमन प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । होटेल सारथी, धुलिखेलमा आयोजित एक विशेष समारोहमा होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो l

होटेल सारथीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर जारी गर्नेछ l आईपीओ जारीपश्चात कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ l यस सम्झौतासँगै होटेल सारथी आर्थिक वर्ष २०८२/०८३ भित्र नेपालका पुँजी बजारमा सूचीकृत हुनेछ l यसबाट नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रको कम्पनीमा लगानीका लागि नयाँ अवसर पाउनेछन् l

२०७२ सालमा स्थापना भएको होटेल सारथी सुपरिचित पर्यटकीय गन्तब्य धुलिखेलमा रहेको स्थापित लक्जरी होटेल हो l २०७६ चैत्रदेखि अपरेसनमा आएको होटलमा प्रेसिडेन्सीयल सुइट, सुइट, प्रिमियम तथा डिलक्स गरि ८० वटा कोठा सञ्चालनमा रहेका छन् l २० जनादेखि ४०० जनासम्मको क्षमता भएको ठुला-साना गरि ४ वटा सभा हल रहेको होटलको सातौँ तल्लामा ‘रुफटप इन्फिनिटी स्वीमिङ पुल विथ पुल बार’ रहेको छ । यहाँबाट लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ l

आन्तरिक र बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न सफल यस होटल संचालनको छोटो समयमा नै होलिडेज, कर्पोरेट, माइसका साथै डेस्टिनेसन वेडिङका लागि समेत आफ्नो बिशेष पहिचान बनाउन सफल भएको छ । स्थानीयरूपमा उपलब्ध खाद्य सामग्रीलाई प्राथमिकता दिँदै ग्राहकको रोजाइ अनुसारको मेनु पस्कँदै आएको यस होटलले स्थानीयस्तरमा रोजगारी, सीप विकास र पेशागत क्षमता वृद्धिमा समेत महत्वपूर्ण योगदान गरेको छ ।

सारथी समूहअन्तर्गत होटेल, मार्ट, बहुउद्देश्यीय सहकारी, वेलफेयर फाउण्डेशन, स्कूल, तालिम केन्द्र, सारथी भेन्चर्स तथा होलिडेज संचालनमा रहेका छन् । १९ रोपनी क्षेत्रफलमा फैलिएको यस होटलमा आफ्नै अर्गानिक फार्म संचालनमा रहेको छ भने रोप साइक्लिङ्ग, स्पोर्टस सेन्टर, पिकनिक स्थल र हेलिप्याड निर्माणाधीन अवस्थामा छ l  भविष्यमा आफ्नो ब्राण्डलाई अन्य प्रमुख पर्यटकीय गन्तब्यहरुमा समेत विस्तार गर्ने लक्ष राखेको यस समूहले चितवनको सौराहामा आफ्नो दोश्रो प्रोपर्टी संचालनमा ल्याइसकेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *