सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

इन्भेष्टाेपेपर ।  असाैज १८, २०७९

काठमाडौँ । दुर्गा पक्षअर्थात् नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

घटस्थापना गरिएको स्थलमै नवौँ सिद्धिदात्री देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ । सिद्धि दिने भएकैले नवौँ देवीको नाम सिद्धिदात्री रहेको हो । सिद्धिदात्री देवीको स्वरुप मुक्त हुन चाहनेलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध अर्थात् मोक्ष हुन चाहनेलाई मुक्ति दिन सक्ने भएकैले ती देवीको नाम सिद्धिदात्री रहेको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरुद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन् । सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ । दुर्गा देवीका नौ नाम स्वयं ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताउनुभएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ नाम स्मरणमात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ ।

नवरात्रको पहिलो दिन असोज १० गते सोमबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन असोज ११ गते मङ्गलबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन असोज १२ गते बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो ।

चौथो दिन असोज १३ गते बिहीबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन असोज १४ गते शुक्रबार स्कन्दमाताको पूजा आराधना गरियो । छैटौँ दिन असोज १५ गते शनिबार कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । सातौँ दिन असोज १६ गते आइतबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरियो ।

दुर्गा पक्षको आठौँ दिनसोमबार महागौरी देवीको विशेष पूजा आराधनासहित पूजा आराधना गरियो । दुर्गापक्षको नवौँ दिन एवं नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म आराधना गरिएकी देवीलाई बुधबार बिहान १०ः३४ बजे विसर्जन गर्ने साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । विजयादशमीको साइत बुधबार बिहान ११ः५१ बजे उत्तम नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

यस वर्ष असोज १९ गते बुधबार विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः५१ बजेको साइत उत्तम रहेको उहाँले बताउनुभयो । दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व भव्य रुपमा मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तज लाम लागेर बस्छन् । वर्षमा एक दिनमात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर पनि आजै भक्तजनका लागि खोलिन्छ । महाअष्टमीमा जस्तै आज पनि शक्तिपीठ एवंं घर घरमा बलिसहित पूजा आराधना गरी नेपालीले आजको दिनलाई विशेष पर्वका रुपमा मनाउँछन् ।(रासस) 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *