कथा : विन्दा
— देवन्द्रप्रताप शाह
‘तपाईँले गाउँ बिर्सनु भो, एक पटक आउँदा बिग्रिने के छ र ?’ विन्दाका यी कारुणिक शब्दहरुले मलाई लामै समयसम्म पछ्याइरहे । तर बिडम्बना भयो – जनयुद्द उत्कर्षमा थियो । आधा जति गाउँले विस्थापित भइसकेका थिए, बाँकी थर्कमान थिए । हामी जस्ता पहिलेको पुरानो, तर अहिलेको नयाँ मान्छेलाई बाहिरबाट गाउँ पस्न निषेध जस्तै थियो, पसे निसानामा पर्नु पर्थ्यो । वास्तवमै कायर थलोमा परिणत भएको थियो गाउँ र यसले गाँउ बाहिरका हामीलाई पनि कायर हुन बाध्य पारेको थियो । त्यहाँ चलिरहेको बर्बरताको गहिराइतिर ध्यान नदिई बिन्दाले यो निम्ता दिएकी थिई । मलाई भने यो निम्ताले हुटहुटी पैदा गरेको थियो ।
छिमेक जिल्लामा निर्दोष शिक्षकलाई दिउँसो मध्यन्हमा सालको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको घटना ताजै थियो । त्यो दृष्य देख्ने कोही पनि मूर्छा पर्न काफी थियो । त्यति बिभत्स र त्यति बर्बर ! यस घटनाले स्वाभावतः गाउँलेहरुको सातो लियो । कसैको मनमा बदलाको भावना पनि दौडियो होला, तर त्यो अदृष्य थियो । यसपछि त गाउँलेहरु शहर आउँनै छाडे, गाँउ र शहरमा संचार टुट्न थाल्यो । अत्यावश्यक काम परेमा जनयुद्दका स्थानीय नेतासँग स्वीकृति लिएर कोही शहर छिर्थे, आफ्नो काम भ्याएर तुरुन्तै फर्किहाल्थे । काठमाडौमा उनीहरुको बसाइ हुन्थेन । तैँ चुप, मै चुप । कुरा गर्दैनथे, रहस्यात्मक रुपले भयभीत मुद्रामा मौनव्रत लिन्थे । हिजोसम्म बोलेर नथाक्ने मान्छेको पनि आज बोली सुनिदैनथ्यो, अनुहारको चहक हराएको थियो । एकदम तनावमा देखिन्थेँ उनीहरु । मान्छे नै अर्को जस्तो लाग्ने भएको हुन्थ्यो ।
सुनिन्थ्यो, बाहिरबाट गाउँ फर्केपछि तिनीहरुको कोर्ट मार्सल हुन्थ्यो । कहाँ गएको हो, क-कसलाई भेटेको हो, कति बजे शहर छाडेको हो, भेटेको मान्छेको नाम र मोबाइल नम्बर कति कति हो, गएको काम भयो कि भएन, भएको वा नभएको प्रमाण के छ, आदि अनगिन्ती प्रश्नहरुका साथ संचालित कोर्ट मार्सलमा जे सजाय पनि हुन सक्थ्यो, खास गरेर ढाँटेको थाहा भयो भने । तिनीहरुको चित्त बुझे मात्र गाउँलेहरु आफ्नो घरभित्र पस्न पाउँथे, अन्यथा माओवादी शिविरमा लगिन्थ्यो । शंका लागेमा जनयुद्दका खेलाडीहरुलाई महिनौँ दिनसम्म पाल्नेदेखि मृत्युसम्मको सजाय तोकिन्थ्यो, पुनरावेदनको गुञ्जायस थिएन । तोकिएको दिन शहरबाट नफर्किए परिवारसँग सोधपुछ सुरु हुन्थ्यो । यातनाको सीमै थिएन । कसैलाई त गाउँ छाड्नै नपाउने उर्दी पनि जारी थियो । गाउँलेहरु अभूतपूर्व र अमानुष संकटमा फसेका थिए । तर कसैलाई केही भन्दैनथे ।
विन्दाको निम्ताले मात्र हैन, ममा गाउँ जाने अभीप्सा नै थियो । विगतको मेरो गाउँ गएको रेकर्डलाई दृष्टी दिदा यसपाली लामो समय व्यतित भइसकेको थियो । तर गाउँलेहरु वेला ठीक नभएको बताउँथे मेरो भ्रमणको लागि । हुन पनि आन्दोलनकारीहरुको लागि नयाँ मान्छे सुराकि लाग्थे र उनीहरुको बिपक्षमा षडयन्त्र गर्ने उद्देष्यले हिडिरहेको ठान्थे । सुराकिलाई तल्लो सजायँ मृत्यु थियो, नत्र टर्चर र मृत्यु दुवै । कतिपय नवागन्तुक अपहरणमा पर्थे र ती मध्ये कति फर्सि वा खसी काटे झै काटिन्थे । यस्तो भयावह परिस्थितिमा विन्दाले मलाई मोवाइलमा कल गर्दै गाउँमा बोलाएकी थिई ।
धेरै वर्षदेखि विन्दासँग सम्पर्कविच्छेद थियो । उसले मोवाइल चलाउन जानेकी पनि थाहा थिएन । गाउँमा मोवाइल फोनको व्याप्तता छ हिजो-आज, जुठेसँग मागेर कल गरेकी रहिछ । यस्तो आँट भएकी महिला नै हैन मैले चिनेकी विन्दा । केही परिवर्तन त उसमा पनि आएछ भन्ने लाग्यो । निम्ताको कारण उसले बताइन, लामो कुराकानी पनि भएन । विचारै नगरीकन तुरुन्तै ुहुन्छ, आउँछुु भन्दै मैले थपेँ, ‘किन ? केही भयो कि ?’ तर पुरा कुरा सुन्दा नसुन्दै उसले फोन राखीसकेकी थिई । उसको अगाडि कोही आइपुगेको हुन पर्छ ।
दुई वर्ष अगाडिको उसको यो कलले मलाई द्विविधामा पार्यो, अब मैदी अर्थात मेरो गाउँ जाने कि नजानेरु एकै रातको लागि मात्र जान पनि जनयुद्दले छेक्लार ? लुकेर पो जान पर्छ कि भन्ने सोच्दै थिएँ । ठीक यसै वेला यो सतृष्णलाई एउटा आँधिले लग्यो कता हो कता । रेडियोले अकस्मात गाउँको हाम्रो घर जलाइएको समाचार सुनायो । स्तब्ध भएँ, विमनस्कपूर्वक गाउँ जाने आकांक्षा परित्याग भयो । अचानक परेको यो विषादलाई चुपचाप सहन र चित्त बुझाउन पर्यो, विकल्प केही पनि भएन ।
कसैको पनि घर जल्नु सामान्य घटना त हैन । यस घटनाबाट मानवीय त हैन, भौतिक खति भयो । यी दुवै भन्दा ठूलो भावनात्मक खति भयो । गाउँलेको लागि हाम्रो घर चौतरियासावको चिनो थियो जो मेरा हजुरबुवा थिए । उनलाई मैले देखिन ।
सुनेको थिएँ, करिव आठ दशकअघि उनले भक्तपुरका निष्णात कालिगढको सहयोगमा निर्माण गरेका थिए त्यो घर । चौतरियासाव सामन्ति थिए, बेजोडको कलाकृति जोड्ने सौख थियो उनको । क्षेत्रकै ठूलो हाम्रो त्यो घरको गारोमा कटुवा ढुङ्गा थिए, झ्यालहरु उत्कृष्ट कलाका नमुना थिए । कम्पाउण्डको पर्खालको एक छेउवाट अर्को छेउ देखिदैनथ्यो । गाउँमा अरु कसैको त्यस्तो नहोस भन्ने उनी चाहन्थेँ, र थिएन पनि । पाहुनाहरु झ्यालको मनोहर कलात्मकताबाट मुग्ध हुन्थे भने चौतरियासाव यसैबाट उत्पुलित । अनि ढुङ्गा, काष्ठ कला र गारो बाहेक त्यो घरमा थियो ( हाम्रो एउटा सेन्टिमेन्ट । जनयुद्दले एकै पटक यी सबैलाई जलाएर खरानि बनाईदियो । हामी हेरेको हेर्यै भयौँ ।
गाउँलेबाट शहरिया भइसकेको मान्छे म । अब गाउँलाई कर्मथलो बनाउने योजना त छैन । तर पीडा के भने जनयुद्दको लप्काले हाम्रो र शायद सबैको इतिहाँसलाई जलाउने धृष्टता गर्यो । अब त्यहाँ नयाँ घर बने पनि त्यो ऐतिहासिकता त हुने छैन, नयाँ घरसँग चौतरियासाुवको नाम पनि जोडिने छैन । चौतरियासावको नाति भएर पनि त्यहाँ अर्को त्यस्तै घर बनाउने हैसियत मसँग छैन ।
अहिले पनि कसैले सोधेमा ‘घर मैदी (मेरो गाउँको नाम) हो’ त भन्छु । घर नभएको सम्झिएपछि मन रमाइलो हुँदैन । पहिले पहिले लाग्थ्यो, ‘घर भनेको के हो र ? बस्ने र सुत्ने ठाउँ त हो नि, ढुङ्गा माटोको गाह्रो, र अलिकति काठ’ । गलत रहेछ यो सोचाइ । आखिर घर त त्यो भन्दा बढी रहेछ । विताएका क्षणहरु, अनि एक आपसमा जोडिएको आत्मीयता, साना ठुला घटनाहरुका सम्झना । बार्दली, पिढीँ, अगेना, धन्सार, धानका भकारि आदि, यी सबै घरका अवयवहरु त हुन् । त्यो घर नहुँदाको कल्पना गर्दा यसै भक्कानो फुट्न खोज्छ । तर म र हामी त्यहाँ त आजकल बस्ने थिएनौँ, तैपनि यस्तो हुँदो रहेछ । मान्छेको मनलाई कसले बाँध्ने ?
घर नहुँदैमा गाउँ आउँदै नआउन पनि सकिदो रहेनछ । घर नहुँदा पनि इष्ट मित्र त हुने रहेछन् । त्यो वरपिपलको चौतारी, पधेरा, पधेरा हिड्ने बाटो, बेसी, तिँदुको रुख, अनि विन्दा, सबै त छन् । जनयुद्द शान्ति सम्झौतामा पुगे पनि गाउँलेहरु ‘पुरै शान्ति छैन’ भन्थे । तर म अब जोखिम नहुने जिद्दी गर्थेँ । मसँग गाउँको भरपर्दो कुनै सुचना त थिएन, यसको माध्यम पनि मसँग थिएन । तैपनि जिल्ला सदरमुकाम धादिङवेसीसम्मको लागि वस चढेँ, एक्लै जान तम्सिएँ । त्यहाँबाट वस फेरेर लाग्नु पर्थ्यो, पश्चिमोत्तर । नयाँ बाटो हिडेकै थिइन, पैदल बाटो अर्कै थियो । आजसम्म म वस चढेर मैदी गएको थिइन, हिडेरै पुगेको थिएँ ।
सुनेको थिएँ – घर घरमा बाटो पुगेको छ । मैदी हुँदै बुढी गण्डकीको छेउसम्म बाटो छिचलिएको छ, त्यहाँबाट गोर्खा जिल्ला छुन्छ । सदरमुकामबाट उत्तर धादिङ जिल्लाकै ठूलो टार सल्यानटारसम्म बाटो खुलेको छ जहाँबाट आरुघाट र पुरानो प्रसिद्द ‘हाँसेको पसल’ भेटिन्छ । यसै गरी उत्तर टोड्के भञ्ज्याङबाट पुरानो कटुञ्जे बजार पुगेको छ बाटो, यहाँबाट सामरी भञ्ज्याङ हुँदै नुवाकोटको त्रिशुली छिचोल्छ । यसले मलाई गाउँप्रतिको उत्सुकता बढाएको थियो । यी सबै ठाउँहरुमा म विगतमा पैदल हिडेर पुगेको छु ।
धादिङवेसी पुगेर अर्को वस खोज्नतिर लागेँ, तर स्थानीयहरुबाट थाहा भयो, मैदी जाने त दिनको एउटै मात्र वस छ, जुन हिडिसक्यो । मनमा हल्का निर्वेदता छायो, धादिङबेसीमै बस्ने कि आज ? यो प्रश्न आयो मनमा । चिया खोज्दै नजिकैको एउटा नजिकैको छाप्रो पसलभित्र छिरेँ । पसलेले मलाई चिया र सूचना दुवै दियो । सुचना अनुसार हिडेर गए दुईदेखि अढाइ घण्टामा पुगिन्छ । पहिले त म अर्कै बाटो पैदल हिड्थे, धादिङबेसीसम्म आउनै पर्दैनथ्यो, बुङचुङबाटै नलाङको ठाँटीभञ्ज्याङ हुँदै मैदी पुग्ने बाटो थियो । अब बस चलेपछि बाटोको नक्सा पनि चल्यो अर्थात फेरियो ।
चिया पसलेका एक अर्को ग्राहकले पनि यसमै सही थाप्यो । अब निर्धक्क भएर आफ्नो हिडाइको गतिमा चार घण्टा लाग्ने अनुमान गरेँ । दिनको एक बजेको थियो, चर्को घाम थिएन । उकालो बाटो हिड्ने निर्णय गरेँ । बाटो कच्चि थियो – धुलो असाध्य । वेला वेलामा मोटर र मोटरवाइकको आगमनले पैदल यात्रा दुरुह बनायो, पाखा लागेर जोगिने प्रयास गरे पनि जिउभरि धुलोहरु वास गर्न आईपुग्थे । मुरली भञ्ज्याङ, पाल्पा, चैनपुर, ढोला गाविसका वन, खोला, गाउँ, पाखावारि, खेत, कान्ला, घुम्ति, हुँदै करिव पाँच बजे लखतरान म मैदी पुगेँ । गाउँ आउने मेरो मनोरथ अब पुरा भयो । बाटोमा पैदल यात्री एक जना पनि भेटिएन, यो मलाई अचम्म लाग्यो । के मान्छे आजकल पैदल हिड्न छाडेका हुन् ?
जब म मैदीको माटोमा उभिएँ, आफू हिडेको बाटो देखेर, गाउँका घरहरु देखेर एक प्रकारको रमाइलो फिलिङ दौडियो मनमा । चसक्क सम्झिएँ, म किन आएको छु यहाँ ? तर फेरि यतातिर मन डुलाउन इच्छा भएन । बरु गाउँतिरै आँखा डुलाउने इच्छा भयो । बाटैमा थियो, विन्दाको घर भनुँ वा माइत । त्यहाँ पुगेँ म । एक छिन अडिएँ । तगारो भित्रतिर आँखा दौडाएँ । अनि तगारो पन्छाएर भित्र कम्पाउणडमा छिरेँ । घाम अस्ताइसकेको र साँझ नपरीसकेको समय थियो । आँगनको बिस्कुन उठेको थिएन । बिस्कुनलाई कुल्चिएर हैन, नाघेर म आँगनको पल्लो छेउमा पुगेँ । घरसँगै नयाँ धन्सार बनेको रहेछ । यही धन्सारको भुईँ तलामा बाँधिएकी भैँसी दुहुदै गरेकी एक स्त्रीलाई देखेँ । भैँसी दोएको आवाज सङ्गित सरह कर्णप्रिय थियो । एकछिन लट्ठ परेर उभिएरै सुनिरहेँ ।
थाहा थियो, घरमा विन्दाको बा र आमा छैनन् । उनीहरु संसारबाट विदा भएको घटना अमेरिकाबाट फर्किएपछि शहरमै सुनेको थिएँ । यसपछि ऊसँग भेट भएको थिएन । सान्त्वनाका शब्दहरु अभिव्यक्त गर्ने समय टरिसकेको थियो । माइत बसेकी विधवाको लागि आमा र बा परलोक पुग्नुले दिने पीडा कसरी सहन सकिन्छ ? विन्दाको बाँकी जीवन सम्झेर मलाई कहालि लाग्यो । शहरमा हुँदा त म त्यति सम्वेदनशील भइनछु यसमा, अहिले पो लामो सास फेर्न थालेँ ।
यो दुध दोहीरहने महिला को हो ? अनुहारलाई ऊ आफैले छेकेकी छ । कौतुहुलता जागेर आयो, विन्दै हो वा उनकी भाउज्यू ? वा अन्य कोही ? आफू आएको जनाउ दिन उभिएरै बोलेँ, ‘घरमा को हुनुहुन्छ होला ?’ देख्न त देख्दै थिएँ उनलाई ।
‘म छु, को हो ?’ मलिनो महिला स्वर प्रकट भयो ।
‘म गोपि, विन्दा हो ?’ स्वर परिचित लाग्यो, मैले सोधेँ ।
एक्कासि मेरो आवाज सुनेर नर्भस भई ऊ, होस-हवास गुम्यो । व्यालेन्स बिग्रियो, दुईवटा घुँडाले च्यापेको फाम भुईँमा खस्यो, दुध पोखियो । म आउने खबर जुठेलाई मात्र थियो । तर ‘कसैलाई नभन्नु’ पनि भनेको थिएँ ।
भैँसी दुहुन छाड्दै रित्तो फाम लिएर नजिकै आई विन्दा । दुब्ली, पातली र हतश्री थिई ऊ । ह्वास्स गन्ध महसुस भयो मलाई । थोरै खिन्न भयो मन । तर कामको प्रचुर दवावमा छे, स्नान गर्न पनि भ्याएकी छैन भन्ने लाग्यो । विन्दाको वदन देख्नासाथ हामी दुई बीच विगतमा घटेको एक घटनाको स्मरण भयो जुन उसको अर्धस्वीकृतिमा भएको थियो । अर्धस्वीकृति भन्ने चिज पनि हुन्छ र हुँदो रहेछ ।
बाह्र वर्षअघिको त्यो घटनाले मलाई सन्ताप दिन छाडेको छैन र मलाई लाग्छ, जीवनभर छाड्ने पनि छैन । तर अहिले यो घटनालाई मानसपटलबाट वलजफत पर धकेलेर अगाडि उभिएकी विन्दालाई सोधेँ ‘के भयो तिमीलाई ?’
‘किन र ? के भएको देख्नु भयो र ?’ प्रश्नमा जबाफ आयो ।
‘दुध पोखियो नि’ मैले भनेँ ।
‘अ …, धेरै थिएन, भैसीँ थाक्दै छ । साउनमा ब्याउने हो’ यति भनेर डराएकी झै थपी, ‘भाउज्यूले गाली गर्छिन् अब’।
‘भाउजूले तिमीलाई हप्काउछिन् र ?’ सोधेँ ।
‘…. ….. …. ‘ जबाफ आएन, ठिङ्ग उभिइरही । थाहा भयो, हप्काउदिरहिछिन् ।
‘भैँसी कति वेते हो ?’ प्रसङ्ग मोड्न खोजेँ ।
‘पहिलो नै हो, अब दोश्रो …, यो भैसीँ हाते र एक हाते दुवै छ, दुध छैन’ मतिर नहेररै उसले जबाफ दिई ।
‘बेटाइममा भैँसी दुहुदी रहिछौ, बिस्कुन पनि उठेको छैन । केही नमिलेको देख्छु आज ?’
‘भैँसी त एक साँझे छ, जुन बेला दोहे पनि हुन्छ’ यसो भन्दै विन्दा भित्रबाट डालो लिएर आई र बिस्कुन उठाएर भित्र पसी । फेरि बाहिर आई । सन्त्रासमा थिई ।
‘केको लागि यो हतार ?’ मैले सोधेँ ।
‘दाइ भाउज्यू आउने वेला भयो, काम भ्याइएकै छैन । कति बस्नुहुन्छ ?’
‘कति बसुँ ?’ म जिस्कन खोजेँ । गाउँमा दुई रात भन्दा बढी बस्नै मिल्दैन । बढी बसे जनयुद्दकर्ताहरुलाई कर तिर्नु पर्छ । यही सुनेको छु । शान्ति सम्झौताको के काम ?’
‘… … ‘ ऊ जिस्कने मुडमा थिइन, मौन बसी ।
‘बस्छु आज र भोलि । दाइ भाउज्यू खै त ?’ फेरि सोधेँ ।
‘भाउज्यू माइत श्राद्दमा, दाइ स्कूल ।’ थाहा थियो, दाइ स्कुलमा माष्टर छन् । भाइको धादिङवेसीको एउटा बैंकमा जागिर छ । गाउँलेहरु भन्थेँ, ‘पण्डित बुवाले छोराहरुलाई पढाए, मान्छे बनाए । तर छोरीलाई भने गँवारै राखे ।’ छोरीले अक्षरसम्म चिनी घरमै । तर अब त त्यो पनि बिर्सी होली ।
‘तिमीलाई कस्तो छ नि ?’
‘ठीकै छ’ जबाफ आयो, तर ठिक छैन जस्तो लाग्यो मलाई ।
‘साँच्चै हो ?’ शङ्का व्यक्त गरेँ ।
ऊ अकमकाई, भनी, ‘आज कुरा गर्ने पनि फूर्सत छैन’
‘कहिले गर्ने त ?’ तिमीलाई थाहा छ म कहाँबाट आएको छु ?’
‘भोलि ! कहाँ बस्नुहुन्छ ?’ विन्दाको प्रश्न सही थियो । यहाँ मेरो घर थिएन ।
‘तिम्रा दाइले त राख्दैनन् होला मलाई, जुठेको घरमा बस्छु ।’ बिन्दाको अनुहारमा आभा देखियो, उसको र जुठेको घर बाटोको मुनि र माथि छन् ।
फूर्सत नभए पनि एक्लै भएको मौका छोपिहालेँ, ‘किन फोन गरेकी थियौ ?’ भनु ।
‘मलाई त थाहा छैन’ टार्न खोजी उसले । झस्किएँ, म झुक्किएँ त ?’ कि मलाई झुक्क्याई विन्दाले ? साच्चै भनुँ, फोनकै कारण जान्न मात्र म गाउँ आएको त हैन । अवस्था हेर्दा अहिल्यै धेरै वेर कुरा गर्न ठीक लागेन । ‘भरै भोलि भेटौँला है’ भनेर जुठेको घरतिर उक्लिएँ ।
विन्दालाई मैले कुनै दिन गम्भीरतापूर्वक ‘जे होला होला, मसँग हिड, तिमीलाई अपनाउन तयार छु’ भनेको थिएँ । भर्खरकी विधवा बाहुनी केटी धर्मसंकटमा परी । आफ्नो धर्म निर्वाह गर्ने वाध्यता एक ठाउँमा; भावना, प्रेम र भविष्य अर्को ठाउँमा । संस्कार र परम्पराले यसरी गाँजेको थियो, त्यहाँबाट उम्कने साहस ऊसँग थिएन । मेरो वोलि र वचन त्यो भीमकाय परम्पराको अगाडि तुच्छ थियो । मेरो प्रस्तावको पूर्ण बेवास्ता गर्दै क्रोधित भावभङ्गिमा घरतिर दौडेकी थिई विन्दा ।
विन्दाको वारेमा केही कुरा – १३ वर्षको उमेरमा विवाह वन्धनमा बाँधिएकी ऊ १५ वर्षमा विधवा भई । लोग्ने टोकुवाको आरोप लाग्यो सासूबाट । ससुरा थिएनन् । दुई जेठाजुहरु प्राय: आक्रमणको मुडमा हुन्थे, भौतिक र योनिक दुवै । असह्य भएपछि आक्रमणबाट जोगिदै ऊ भागेर माइत पुगी, र यहीँ बस्न थाली ।
वर्षदिनपछि माइती गाउँलेको सहयोगमा घरबाट आफ्नो भागको अङ्श लिई र माइतमा दाज्यू र भाइकोमा मिसाउन वाध्य भई । उमेरकी विधवा छोरी कसैसँग भागी भने सम्पती गुम्ने डर भयो पण्डित बुवालाई । उसले आफ्नो नाममा केही पनि राख्न पाइन । विहे गरेकी छोरीले ३५ वर्ष पुगेपछि पनि भाइ सरह अङ्श पाउने कुरा भएन, न घर न माइत भई विन्दा । छोरीको भविष्यको आंकलन गर्न नसक्ने विद्वान बुवाको अदूरदर्शिताको शिकार भई । अब उसको भाग्य र भविष्य पराश्रित छ, दाइ-भाउजु र भाइको दयामा निर्भर छ ।
समय आधुनिकतातर्फको दौडमा छ, गाउँ पहिले जस्तो छैन । तर विन्दामा यसको प्रभाव देखिदैन, विवाहित बुढीकन्या छे । आँट गरेकी भए ऊ भाग्न सक्थी, मसँग जाने हिम्मत त गरिन । वाधा छ- माइतीको इज्जत, परम्परा र संस्कार । उसका बुवा विद्वान कहलिन्थे, जजमानी गर्थे, पुराण भन्थे । यस भेगैका पण्डितको नाम प्रख्यात थियो । इज्जतको चंगुलमा फसेर विन्दाले जीवनका हर व्यथा खपी, र खपिरहेकी छे । मन्टो उठाउनै पाइन, एक पटक जुठेसँग भनेकी थिई रे, ‘आमा र बुवा दुवैपट्टिको पूर्खामा आजसम्म कोही पनि विहे गरेको घरबाट पोइल गएका छैनन् ।’ प्रष्टै भयो, उसको मनमा तीव्र ज्वार-भाटा चल्दै थियो ।
धादिङ र गोर्खाको दोसाँधको यो मैदी म र विन्दा दुवैको जन्मथलो हो । भनिन्छ – जन्मेको ठाउँको छुट्टै आकर्षण हुन्छ । तर जन्मेकै कारणले म यस ठाउँसँग आकर्षित भएको हैन । जीवनका पहिलो ६ वर्षसम्म म यहाँ निरन्तर थिएँ, त्यसपछि अध्ययनको लागि पुर्याइयो काठमाडौ । ती छ वर्षका धेरै घटनाहरु मेरो स्मरणमा छैनन् । विन्दासँग चिनजानै थिएन, शायद जन्मेकै थिइन । कस्तो संयोग भने त्यसपछि एक्कासि बिएको जाँच दिएर मैदी आएँ, र पास भएको नतिजापछि काठमाडौ फर्किएँ । यही तीन चार महिनाले गाउँप्रतिको मेरो आकर्षण अमर बनाईदियो । गाउँलेहरुसँग मिलेर नदिमा पौडी खेलेँ, खोलामा माछा मार्न गएँ, वनभोज खाएँ, बेलुकी केटीहरुसित बसेर मीठा गीत गाएँ, जात्राहरु हेरेँ, मादल बजाएँ, कोदोको रक्सी र भातको जाँड पिएँ, सकिनसकि नाचेँ, आनन्दले झुमेँ ।
तीनताक नै विधवा विन्दासँग मेरो भेट भएको हो । अवला र दुस्खी केटी, अन्य भन्दा फरक र गम्भीर तर अनुहारमा कान्ति, म साच्चै विभोर भएँ ऊसँग । सबै रमाइलोमा सामेल नभए पनि साँझमा आधा-एक घण्टा वात मार्दा भने समुहमा प्राय: ऊ हुन्थी । । मल बोकेर बेसीतिर लागिरहेकी विन्दालाई म डाँडामा बसेर हेरीरहन्थेँ । पित्तलको गाग्री डोकोमा हालेर पधेरातिर ऊ निस्केपछि हातमा ब्रुस लिएर म दौडन्थे त्यतै दाँत माझ्ने निहुँमा । एकान्तमा भेट्ने अवशर जुट्न गाह्रो थियो । तीनताक म वर्षको तीन पटक पनि मैदी आएँ । यही आउनु जानुबाटै हाम्रो सम्बन्ध गाढा हुँदै गयो ।
समय सधै एकनास त चल्दैन । भेटघाटको यो निरन्तरतामा ब्रेक लाग्ने दिन आइपुग्यो । एकातिर जनयुद्द चर्क्यो, अर्कोतिर जीवनले नयाँ नयाँ मोड लिन लाग्यो एक पछि अर्को गर्दै । परिवारका बाँकी सदस्य गाउँबाट बसाइँ सरे । तीन वर्षको लागि म अमेरिका पढ्न गएँ । फर्केपछि जागिरमा बढुवा भयो । मनमा धेरै कुरा नखेलेको हैन, तर बिहे भएरै छाड्यो मेरो । परिवार र कार्यालयको जिम्मेवारी थपिदै गयो, गाउँ विस्मृत प्राय: भयो । अकस्मात आएको विन्दाको फोनकलले झस्कायो, आखिर पहिले आफू आएको सालबाट १२ वर्ष र विन्दाको फोनको दुई वर्षपछि आज म यहाँ आएँ ।
जुठेको घरमा अग्लो लागेको रहेछ, थोरै वेरको लागि कतै गएको होला भन्ठानेँ । पिढिमा एउटा थोत्रो गुन्द्रि देखेँ, त्यही ओछ्याएर थचक्क बसेँ, थकाइ लागेको थियो । झोला बिसाएर नजिकै राखेँ । जिउ पसिनाले भिजेको थियो, सररर चलेको हवाले पसिना सुकाईदयो । पिढिको गारोमा अडेस लगाएर आँखा चिम्लिएको थिएँ, झकाएछु । तैपनि जुठे आईपुगेको चाल पाएँ । उसले सोध्यो, ‘धेरै वेर भयो कि ?’
‘भर्खरै हो’ जवाफ दिएँ ।
‘वस त अघि नै आइसक्यो, तिमी कसरी भर्खरै ?’
‘हैन, वस छुट्यो, पैदल आएँ ।’
‘ए … , थाकियो होला, आराम गर, म चिया बनाउँछुु गाउँमा पनि चिया संस्कार आईसकेछ । ऊ घरभित्र पस्यो ।
एक्लो जुठे छ यो घरमा । ऊ साथी हो, सोझो छ । विन्दा र मेरो वीचका कुरा अरुलाई भन्दैन । काठमाडौबाट फोनमा हालखबर सोधेको थिएँ जुठेसँग अलि पहिले । उसले ‘विन्दालाई पहिले जस्तो छैन, पिर छ’ भनेको थियो । जुठे उसको टाढाको नातेदार पनि हो । जुठेकी पत्नी पहिल्यै मरी, एउटा छोरा कतारमा छ, पैसा पठाईरहन्छ, जुठेलाई पहिले जस्तो दुस्ख देख्दिन ।
‘कहिलेकाहीँ मलाई सम्झिन्छे विन्दाले’ मैले फोनमै सोधेको थिएँ ।
‘खै, तिम्रो कुरा मसँग गर्दिन, कहिलेकाहीँ जागिर खान पाए हुन्थ्यो भन्छे’ जुठेको यो जबाफले दिक्क भएँ । दाइ र भाइले जस्तै उसले पनि जागिरमा चाख राख्नु असामान्य हैन । तर के जागिर खाने ? योग्यता छैन । कतार जान पनि तयार भएको अभिव्यक्ति दिएकी रहिछ । यो चाहिँ पक्का भयो, यहाँ उसलाई रमाइलो छैन, दिक्दारीमा रहन्छे । तर मसँग भने विन्दा खुल्नै सक्दिन, मैले पनि त्यो गहिराइमा पुगेर सोधेको छैन । ‘अनि ? भाउज्यूसँग मेलमिलाप छैन ?’ मैले जिज्ञासा राखेँ ।
‘नन्दलाई भाउजू देख्नै सक्दिन, विन्दा एक छिन चुप लागेर बस्दिन, अगिसरा छे । तैपनि भाउजूको चित्त बुझेको छैन’ जुठेको जबाफ आयो ।
‘अनि दाइ ?’
‘दाइ सधैँ घरमा हुँदैनन्, भए पनि स्वास्नीको कुरा काट्दैनन् । चुप लाग्छन्, बहिनीलाई मर्का परे पनि केही बोल्दैनन्’ ।
‘कस्ता रहेछन् दाइ, धत्’ मैले दिक्क मान्दै भनेँ ।
जुठेसँग अन्य धेरै कुरा भयो । उसले जनयुद्दताकाको असहनीय पीडा कहिले आँसु झार्दै कहिले आँशु पुछ्दै बतायो । ‘जीवन र मृत्युको दोसाँधमा थिए गाउँले, हतियार देखाएर अधरातमा भित्र पस्थे चिन्नु न जान्नुका मान्छेहरु । राति दश वजेपछि गर्याप गर्याप आवाज आयो र कुकुर भुक्न थाले भने उठेर ढोका खोल्नै पर्थ्यो, नत्र सिद्याईदिन सक्थे । पल्लाघरे काइलालाई सिद्द्याए, त्यसपछि गाउँलेहरुको के लाग्ने भयो र ?’ जुठेको कुराले म आफै भावबिहल भएँ, पल्लाघरे काइलालाई सम्झिएँ । उसलाई म चिन्थेँ, उसको अचम्मको हाँसो थियो । त्यो हाँसोलाई सम्झिएँ । अब त्यो हाँसो सुन्न नपाइने सम्झिएर दुःखित भएँ ।
‘आफू बाहिर निक्लेर घरभित्र उनीहरुलाई सुताउन पर्थ्यो’ जुठेले थप्यो, ‘पैसा माग्थे, नदिए दशैँलाई साँचेको खसि काटेर खुवाउन पर्थ्यो, यो पनि नभए पेस्तोलले आफैलाई खसि बनाइदिने डर थियोु गहभरी आँशु गर्दै जुठेले भन्यो, ‘मेरै आँगनमा तिनीहरुले गाई काटे, मेरै घरको चुल्होमा गाईको मासु पकाएर खाए । मैले केही गर्न सकिन, रातभर रोएँ मात्र । गाउँले कोही आएनन्, झन ढोका थुनेर बसे । पछि उल्टै मलाई वाहुनको घरमा गाईको मासु पकाउँदा अनिष्ट हुन्छ भन्न थाले सबै । नभन्दै छोरा घाँस काट्दा काट्दै रुखबाट खस्यो, दुई वर्ष थल्लियो, धेरै दुस्ख पायो त्यसले’ यति भनेर जुठेले घुँक्क घुँक्क आवाज निकाल्यो, रोएको रहेछ । सनातन धर्म र परम्परामाथिको यो आक्रमण सुनेर मेरै आँखा पनि रसाए ।
एक छिनसम्म मौन रह्यौँ हामी दुबै, जनयुद्दको समयमा गाउँलेले भोगेको दुस्ख सम्झिएर कहाली लाग्छ । मौनतापछि सोधेँ, ‘हिजो आज बेलुकि गफ गर्न कोही आउँदैन यहाँर ? पहिले त आउँथे’ ।
‘पहिले जस्तो छैन, समय काल अर्कै भयो । आजकल गाउँमै पनि गुण्डा छन्, अस्ति मात्र माइत हिडेकी पल्लो गाउँकी चेली दिनकै उज्यालोमा डढुवाको बुट्टे वनमा लुटिई, कानका गहना र तिलरी लुछेर लगे । लुटेराले अनुहार छोपेका रहेछन, उसले चिनिन । वलजफत गर्ने काम जनयुद्दले नै यहाँकालाई सिकायो । अब माओवादी मात्र हैन, सबै गुण्डा भए । जे भए पनि नजिकका कहिलेकाहीँ गफिन आउँछन् । वेला टरिसक्यो, आज अब आउँदैनन्, भोलि आउलान्’ जुठेले जवाफ दियो ।
भोलिपल्ट दिउँसभर गाउँको परिक्षेप गरेँ । कहीँ पनि आफ्नो दौँतरी भेटिन, घरहरुमा ताल्चा लागेका थिए, स्वदेश वा विदेश गएछन् उनीहरु । स्वदेश – काठमाडौ, धादिङवेसी वा चितवन । विदेश – मलेशिया र खाडीका मुलुकहरु । बाटो र वत्तीको प्रगति देखेँ । तर यो आनन्द भन्दा जनयुद्दले पारेको घाउ चर्को र गहिरो पाएँ । गाउँ घुमेर साँझपख जुठेको घरमा पुग्नासाथ यो कुरा निकालेँ । जुठेले भन्यो, ‘युद्दले मान्छेको मनमा भारि डर पसायो, मनमा डर पालेर पाइएको सुखको के काम ? अझै पनि उस्तै छ । चन्दा आतङ्क झनै बढेको छ, आफूलाई भोट नहाल्नेलाई सिद्याइदिने धम्कि दिइन्छ । युद्द हुँदैनथ्यो भने स्वर्ग भईसक्नेरहेछ गाउँ । तर के गर्नु ? कसैको पनि गाउँमै बसिरहने चाहना छैन । डरैले होला, पैसा भयो कि सदरमुकाम वा काठमाडौमा घडेरि किन्ने सोच बनाउँछन् गाउँलेहरु । रोजगारीका लागि गाउँ छाडेका तन्नेरिहरु फर्केर खेति सम्झन चाहदैनन्, बुढाबुढीहरु एक दिन त मर्नेछन् । कसरी बचाउने होला गाउँलाई ?’
जुठेले गम्भीर प्रश्न उठायो, जसको जवाफ मसँग छैन । मेरो मैदी मानवबिहीन गाउँमा परिणत होला तर ? कहिल्यै मैदी आउनै नपाउने त हैन ? कति कहालिलाग्दो । सन्तप्त भएँ । एकैछिनमा सम्हालिएँ, यो कल्पनातिर किन लाग्ने ? चित्त बुझाएँ र व्यग्रताका साथ विन्दाको प्रतिक्षा गर्न थालेँ । ऊ आउनै पर्ने छ आज यहाँ, नत्र भ्रमण अपुरो हुनेछ ।
विन्दा हाँस्दै आईपुगी, विहसित मुद्रामा थिई । हिजो आउँदा आउँदैको भेट भन्दा फरक, सफा, सुगन्ध र आकर्षक । मन गदगद भयो । जुठे, म र विन्दा घरभित्र अगेनाको छेउमा बसेर वात मार्न थाल्यौँ हामी । वात मार्दा मार्दै मैले आफ्नो झोलाबाट दुईवटा सामान झिकेँ, एउटा जुठे र अर्को विन्दालाई दिएँ । उनीहरुलाई मेरो तर्फवाट उपहार – सर्ट र फरिया । जुठेले त ‘किन ल्याउन पर्थ्यो र ?’ भन्दै लियो सर्ट । विन्दाले चाहिँ ‘मलाई त चाहिँदैन’ भन्दै फरिया समातिन । विस्मित भएँ म, किन हाेला भन्ठानेँ । जुठे जुरुक्क उठ्यो र घर बाहिर निस्कियो, छिनछिनमा भित्र बाहिर गर्न थाल्यो । साँझको समय, जुठेको घरमा अरु पनि आउन सक्थे । म सतर्क थिएँ । यही वेलामा प्रायश्चित गर्न चाहेँ, त्यो भुलको लागि जुन मैले बाह्र वर्षअघि गरेको थिएँ ।
बाह्र वर्षअघि – साँझ टरीसकेको थियो, खाना खाईसकेपछि पधेरा नजिकैको समीको वडेमाको रुखको फेदमा विन्दा र म थियौँ । यो संयोग भेट विशेष भएरै छाड्यो । एकान्तपन र अधेरी रात । कुरा गर्दागर्दै जिउमा जिउ टाँसिएको हामीले थाहै पाएनौँ । विन्दाले पनि रमाइलो नै मानीरही । तर विस्तारै मैले आफूमा नियन्त्रण गुमाउन थालेँ । दुराशय नहुँदा नहूदै आसक्त र आक्रमक भएँ म, ऊ छटपटाउन थाली । आक्रमणबाट जोगिन विचरीले प्रयास गरी, तर आफै आक्रमक बन्न भने असमर्थ भई । उत्तेजनालाई दारा किटेर खपी । सोधी, ‘तपाईँलाई धर्मको चेष्टा छैन ?’
‘विन्, तिमी कुन धर्मको कुरा गर्दैछौ ? इच्छाहरुलाई दवाउनु धर्म हो ?’
‘बुवाले सिकाएको धर्म यही हो, म बाँधिएको छु । त्यसैले यो काम गर्न सक्दिन ।‘
‘तिमी किन त्यागै मात्र गर्न चाहन्छौ ? के वाल विधवा हुनु तिम्रो दोष हो ?’
‘वरत्र त मेरो बिग्रियो, अब परत्र पनि बिगार्ने ? छाड्नुस मलाई’ । तर मैले छाडिन ।
यो गजबकै स्थिति थियो, विन्दा लामो लामो सास फेर्न थाली, उर्लेर आयो उसको संवेग । तर संवेगलाई थिचेको थियो उसको धर्मले, समर्पण भाव भने देखिन । यता मदान्ध मैले आखिर जबरजस्ति नै गरेँ । उन्मादपूर्ण त्यो क्षण बाढि जस्तो आयो र गयो । जब गयो, ममा पश्चातापको ज्वाला दन्किन थाल्यो, जुन अहिलेसम्म निभेको छैन । आफ्नो विकर्ममा संताप भइरह्यो । मन बुझाउने बाटो खोजेँ । विन्दाको पुरै सहमति लिन सकिन, अर्धसहमतिसम्म लिएँ भन्ने लाग्छ । अर्को शब्दमा सेन्सले अस्वीकृति, भावना र प्रेमले स्वीकृति थियो उसको । यही घटनापछि मसँग काठमाडौतिर हिड्न अनुरोध गरेको थिएँ, उसलाई अपनाउन तयार भएर ।
‘मैले पाप गरेँ, अब नभेट्नुस’ भन्दै क्रोधित मुद्रामा पधेराको समीको त्यो रुख छाडेर घरतिर फाल हालेकी थिई विन्दा । दूर्भाग्यपूर्ण घटनाको आशंकामा भयभित भएँ म । तर सामान्य नै भयो भोलिपल्ट, कसैबाट केही सुनिएन ।
त्यसवेला म अविवाहित थिएँ, अहिले विवाहित छु । तैपनि विन्दालाई भेट्दा अझै पनि तरङ्गित हुन्छु, ग्लानि र गल्तिवोध हुन्छ । जुठेको घरमा बसेर पुन: सोधेँ, ‘मलाई किन फोनमा गाउँ आउन भनेकी ? हैन भनेर म पत्याउँदिन, तिम्रो स्वर म चिन्दिन ?’
ऊ यस पटक गली, थोरै हाँसी र भनी, ‘न्यास्रो लागेर, तर आउनु भएन, अहिले किन सोध्ने ?’ खास कारण उसले अझै बताइन ।
‘देखेनौ ? यही हो नि आएको ?’
‘फेरि बाह्र वर्षमा आउने होला, भेटघाटै हुन छाड्यो’
‘हैन, अब वर्षेनि आउँछुु आश्वासन दिएँ । थपेँ, ‘तिमीलाई दुस्ख छ’ ममा संवेदनशीलता बढ्यो ।
‘के गरुँ ? मर्न नसकेपछि बाँच्नै पर्दोरहेछ’ रोएर आफ्नो जीवन अभिसप्त भएको बताई विन्दाले।
‘दाइ भाउजु कस्ता छन् ? माया गर्दैनन् तिमीलाई ?’
‘हजुर, कुरा नगरुँ’ ऊ भक्कानिई । म पनि बोल्न सकिन ।
‘अब जान्छु, घरमा के भनिसके होलान्’ सधैँ भेट भईरहोस, यति नै चाहना छ’ यति भनेर निस्पृह विन्दा जुरुक्क उठी र हिड्न तयार भई ।
अब अन्त्य पर्दै आयो, भोलि त फर्कनु छ । उसको अनुताप कसरी हटाउने ? हिम्मत बटुलेर सङ्कोचपूर्वक पहिलेकै प्रस्ताव दोहोर्याएँ, ‘विन्, तिमी मसँग जान तयार छैनौ ?’ दुई वटीलाई नै आफैसँग राख्ने मनमनै निर्णय गरेँ, जे पर्ला पर्ला भन्ठानेँ ।
प्रस्तावले विन्दाको वदनमा आलोक छर्यो, तर निमेषभरमै परिवर्तन आईहाल्यो । ऊ तीव्र मानसिक द्वन्दमा फसी । केही बोलिन । मैले फेरि पनि त्यही कुरा भनेँ ।
‘माला लगाउन खोज्नु भएको ?’ उसले हल्का मुद्रामा भनी र अगाडिको नयाँ फरिया टिपेर लुसुक्क बाहिर निस्किई, मेरो दृष्टिबाट हराई । पहिले त उसले बोलेकी वाक्यको अर्थै बुझिन । वहु पत्नीको प्रसङ्ग पो झिकेकी रहिछ, अर्थात पत्नीहरुको माला लगाउन खोजेको आरोप रहेछ मलाई ।
मान्छेको सोच चलायमान हुन्छ । एउटै इस्युमा पनि समय-समयमा उसको सोचाइ परिवर्तन भईराख्छ । विन्दाको १२ वर्षअघि समीको रुखबाट भाग्दाको अभिव्यक्ति, दुई वर्षअघिको फोनकल र जुठेको घरमा अहिले देखाएकी व्यवहारको अनयासै सुक्ष्म विश्लेषण गरेँ । निष्कर्ष निस्क्यो, तुलनामा दुई वर्षअघि सबैभन्दा बढी नरम थिई ऊ । त्यही बेला गाउँ आउन पाएको भए विन्दा मसँग जान तयार हुन्थी कि ? संस्कारको जञ्जिर तोड्थी कि ? तर दूर्भाग्य भयो, जनयुद्दले गाउँ पस्नै दिएन । फेरि सोच्छु, विन्दा आउन तयार भएकी भए के हुन्थ्यो ? मेरो प्रस्ताव ब्यबहारिक त थिएन, भवनात्मक थियो । मैले खासै यसको नतिजा विचारै नगरीकन बोलेको थिएँ । साँचो हो, मान्छे सधै सोचेर बोल्दैन । त्यस्तै भएँ म ।
तैपनि अब असहनीय पीडा यो छ कि न मैले आफूलाई माफि दिन सकेको छु, न उसको अनुताप हटेको अनुभव मलाई भएको छ ।
(बुढानीलकण्ठ)
(कथा वा उपन्यास -आख्यान – सधैँ यथार्थ Facts र कल्पना Imagination को फ्युजन हुने गर्छ । हालै प्रकाशित प्रस्तुत कथा पनि फिक्सन हो जसले यथार्थ र कल्पनालाई जोडेको छ । न यथार्थ मात्र, न कल्पना मात्र – लेखक)
