राजधानीका विभिन्न ठाउँबाट चिनी बिक्री गरिँदै

न्भेष्टाेपेपर । कात्तिक २, २०८०

काठमाडौँ   ।  नेपाल खुद्रा व्यापार सङ्घले समन्वय गरेर बुधबारदेखि राजधानीका विभिन्न ठाउँमा चिनी बिक्री गरिएको छ । 

केही दिनयता उपत्यकासहित देशका विभिन्न ठाउँमा चिनीको हाहाकार भएपछि सङ्घले बुधबारदेखि प्रतिकेजी ११५ रुपियाँमा प्रतिउपभोक्ता दुई केजी चिनी बिक्री गरिएको हो ।

सङ्घका अनुसार वीरगन्जको एभरेस्ट चिनी उद्योगबाट बुधबार बिहान काठमाडाैँ आइपुगेको तीन सय बोरा वा १५० क्विन्टल चिनी नक्साल, ज्ञानेश्वर, लाजिम्पाट, महाराजगन्ज चक्रपथ, बुढानीलकण्ठ, सोह्रखुट्टेदेखि बालाजु बाइपाससम्म, ज्याठाचोक, ठैँटी, क्षेत्रपाटी, स्वयम्भू, ताहाचल, भक्तपुर, पाटनलगायतका ठाउँमा पु¥याएर प्रतिउपभोक्ता दुई केजीका दरले बिक्री गरिएको छ । 

सङ्घका अध्यक्ष नरेश खड्कीले बुधबार चिनी बिक्री गरिएका क्षेत्रमा अधिकांशले चिनी प्राप्त गरेको र केही छुटेको भए अर्को दिन पनि दिन सकिने व्यवस्था गरिने जानकारी दिनुभयो । तत्काल उपभोक्ताको समस्या टार्ने उद्देश्यले सरकारको समन्वयमा शून्य प्रतिशत नाफा लिएर सङ्घले नितान्त सेवाको भावले चिनी बिक्रीको व्यवस्था गरेको उहाँको भनाइ छ । अध्यक्ष खड्कीले भन्नुभयो, “अहिले उपभोक्तालाई चिनी बिक्री गर्दा हाम्रा व्यवसायी साथीलाई नाफा शून्य हो । प्लास्टिकमा दिँदा उल्टै नोक्सान भएको छ तर पनि सेवाका लागि साथीहरू बिहानैदेखि खटिनुभएको छ ।”

अहिले बजारमा चिनी अभाव भएर उपभोक्ताले दुःख पाएकाले उपभोक्तालाई स्वयम्सेवकका रूपमा सेवा दिने छुट्टै स्टल राखेर चिनी बिक्रीको व्यवस्था मिलाइएको पनि अध्यक्ष खड्कीले जानकारी दिनुभयो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सङ्घको समन्वयमा उद्योगीबाट सिधै उपभोक्तासम्म चिनी बिक्री गर्ने व्यवस्था गरेको जनाइएको छ ।

उद्योगीले बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सी कम्पनीलाई बिक्री गरिसकेको उच्च गुणस्तरको एक हजार टन चिनी खरिद गरेर खुद्रा व्यापार सङ्घको समन्वयमा बुधबारबाट बिक्री गर्न थालिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलवालले जानकारी दिनुभयो । 

बजारमा चिनीको अभाव भएर मूल्य बढेपछि दसैँअघि अनुदानको चिनी आउने आस टरेपछि उद्योगीले बिक्री गरेको चिनी सम्बन्धित कम्पनीलाई अनुरोध गरेर सो परिणामको चिनी खरिदको व्यवस्था गरेर तत्कालको समस्या समाधान गरिएको पनि उहाँले जानकारी दिनुभयो । दसैँको मुखमा बजारमा उपभोक्ताले चिनीको किन्न पाएका थिएन र ? सरकारले बेलैमा अनुुदानको चिनी आयात नगर्दा दसैँको मुखमा चिनी नपाएका हुन् ।

यता साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकाका आफ्ना बिक्री केन्द्रबाट प्रतिकेजी ९७ रुपियाँमा प्रतिव्यक्ति दुई केजीसम्म चिनी उपलब्ध गराउँछ तर त्यो चिनी किन्नका लागि उपभोक्ताले एक दिन पूरै माया मार्नु पर्छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *