टी-२० विश्वकप : पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा
इन्भेष्टोपेपर । कार्तिक २६, २०७८
दुबई । अस्ट्रेलिया टीट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेकाे छ। बिहीबार राति संयुक्त अरब इमिरेट्सको दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको हो।
पाकिस्तानले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभरमा पाँच विकेट गुमाएर जित निकाल्यो। अस्ट्रेलियालाई जित दिलाउन डेविड वार्नरले सर्वाधिक ४९ रन बनाए। उनले ३० बलमा तीन छक्का र तीन चौका हिर्काए। यसैगरी म्याथु वेडले अविजित ४१, मार्कस स्टोइनिक्सले ४० र मिचेल मार्सले २८ रनको योगदान दिए। पाकिस्तानका सदाव खान एक्लैले चार विकेट लिए। यस्तै शाहिन अफ्रिदीले एक विकेट हात पारे।
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ७५ रनको योगफल खडा गरेको थियो। पाकिस्तानका लागि मोहमद रिजवान र फाखर जामनले अर्धशतकीय पालि खेलेका थिए। विकेटकिपर ब्याट्सम्यान रिजवानले ५२ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ६७ रन बनाए।
यसगरि बुधबार राति आबुधावीमा भएको सेमिफाइनलमा इङ्ल्यान्डलाई पाँच विकेटले पराजित गर्दै न्युजिल्यान्डले फाइनलमा स्थान बनाइसकेको छ। अब न्युजिल्यान्ड र अस्ट्रेलियाबीचको फाइनल खेल आइतबार दुबईमै हुनेछ।
सन् २००७ बाट सुरु भएको टीट्वेन्टी विश्वकपको यो सातौं संस्करण हो। न्युजिल्यान्ड टीट्वेन्टी विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो। सन् २०१० को उपविजेता अस्ट्रेलियाले दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। सन् २०१० को फाइनलमा अस्ट्रेलियालाई इङ्ल्यान्डले सात विकेटले पराजित गरेको थियो।
