लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो
इन्भेष्टाेपेपर । असार १०, २०८३
काठमाण्डाै । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तापक्रम निरन्तर वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा नागरिकलाई उच्च तापक्रमको जोखिमबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आउँदो ३ दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुभयो । साथै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ ।
पर्सि शुक्रवारसम्म कैलालीको धनगढीमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र बाँकेको नेपालगञ्ज तथा रुपन्देहीको भैरहवामा तापक्रम ४१ डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान छ । सुर्खेतको वीरेन्द्रनगर र दाङ घोराहीको तापक्रम पनि बढ्नेछ ।
ती क्षेत्रमा नागरिकलाई अत्यावश्यक काममा बाहेक दिउँसो घरबाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ ।
