गुल्मीमा ३८ जातका कफीको परीक्षण
इन्भेष्टाेपेपर । भाद्र २७, २०८३
काठमाण्डौ । गुल्मीमा ३८ जातका कफीको परीक्षण गरिएको छ ।
जिल्लामा व्यावसायिक कफीखेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो । कफी अनुसन्धान कार्यक्रमअन्तर्गत भण्डारीडाँडामा आर्थिक वर्ष २०८२/८३ मा ३८ जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार परीक्षण गरिएका जातमध्ये तीन वटा जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन् । ती जातमा ‘गुल्मी लोकल’, ‘सेलेक्सन–१०’ र ‘एलोक्याटुरा’ रहेका छन् । रुरुक्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधिमार्फत ३८ जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो ।
यसैवर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट चार वटा नयाँ जातका कफीका बिरुवा ल्याएर बेर्ना उत्पादन शुरु गरिएको पनि प्रमुख गौतमले बताउनुभयो । कफी अनुसन्धान कार्यक्रमअन्तर्गत झण्डै १०० रोपनी क्षेत्रफलमध्ये ६० रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बीउ–बेर्ना उत्पादन भइरहेको छ ।
नेपालमा अहिलेसम्म कुनै पनि कफीका जात सिफारिस नभएको अवस्थामा अनुसन्धान कार्यक्रमले यस वर्ष तीन जात सिफारिसका लागि अन्तिम चरणमा पुर्याएको उहाँले जानकारी दिनुभयो ।
