मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ : अध्यक्ष ओली

न्भेष्टाेपेपर । जेठ ३, २०८०

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्ने बताउनुभएको छ । एमालेले मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवसको अवसरमा आज मदननगर बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले दुई नेताले छोडेर जानुभएको अभिभारा पूरा गर्नुपर्ने बताउनुभयो ।

“मुलुक बनाउन बोकेका सपना  पूरा गर्न नभ्याउँदै उहाँहरुको हत्या भयो,” अध्यक्ष ओलीले भन्नुभयो, “त्यो सपना आज उहाँहरूका उत्तराधिकारी तपाई हामीले पूरा गर्नुपर्नेछ ।” उहाँले मदन भण्डारीका सपना पूरा गर्न चुनौती रहेको तर षड्यन्त्रलाई परास्त गरी उहाँको सपनालाई साकार पार्नुपर्ने बताउनुभयो । 

अध्यक्ष ओलीले पार्टी एकताबद्ध र सङ्गठन सुदृढ भएर अघि बढ्यो भने मात्र उहाँहरूले छोडेर जानुभएको अभिभारा पूरा गर्न सकिने धारणा राख्नुभयो । 

अध्यक्ष ओलीले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) का उद्देश्य साकार पार्न नयाँ ढङ्गले सङ्कल्प गर्ने धारणा राख्नुभयो । उहाँले मुलुकको परिस्थिति जटिल रहेकाले अहिलेको राजनीतिलाई हल्काफुल्का नलिन आग्रह गर्नुभयो । एमालेले देश, जनता, परिवर्तन, सुशासनका लागि एकता गर्ने उहाँको भनाइ थियो । 

मदन नगर बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीलगायतका शीर्ष नेताहरूले नेता भण्डारीको सालिकमा माल्यार्पण गर्नुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *