राष्ट्रिय सेवा दल राष्ट्रप्रति समर्पित युवाशक्ति तयार गर्दै

इन्भेष्टोपेपर । असार २०, २०७

काठमाडौँ — समाजमा अनुशासनको खडेरी र मूल्य मान्यतामा ह्रास आइरहेका बेला नेपाली सेनाले भने ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्यका साथ युवाशक्तिमा राष्ट्रिय भावना जागृत तुल्याउन भगीरथ प्रयास गरिरहेको छ । देश र जनताको सुरक्षामा अनवरत अग्रसर सेनाले राष्ट्रिय सेवा दलमार्फत युवामा राष्ट्रिय दायित्वबोधको संस्कार विकास गराउन तालिमका माध्यमद्वारा महत्वपूर्ण योगदान पु¥याइरहेको छ ।

अनुशासनको जगमा कर्मशील, मर्यादित, मुलुकप्रति समर्पित र ऊर्जाशील युवा तयार गर्ने कार्यमा सेवा दलद्वारा प्रदान गरिने तालिमले ठूलो बल प्रदान गरिरहेको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक रघु भण्डारीले बताउनुभयो ।

पछिल्लो वर्ष भने कोभिड–१९ सङ्क्रमण जोखिमले सेवा दलको उक्त प्रयासमा अड्चन खडा गरेको छ । यद्यपि कोरोनाका कारण भौतिक उपस्थितिमा सञ्चालन हुन नसके पनि उपलब्ध प्रविधिको प्रयोग गरी भर्चुअल माध्यमद्वारा सैद्धान्तिक कक्षा सञ्चालन गर्न अध्ययन कार्ययोजना तयारीको क्रममा रहेको बताइएको छ ।

 विस २०२२ कात्तिक ७ गते स्थापना भएको सेवा दलले ५१ हजार ३३२ युवालाई अनुशासित, इमान्दार, जिम्मेवार तथा देशप्रति समर्पित सभ्य र सुसंस्कृत समाज निर्माणमा स्थापित गराउन जुनियर र सिनियर डिभिजन क्याडेट तालिम प्रदान गरिसकेको छ । युवालाई अनुशासित, मुलुक र मुलुकवासीप्रति बफादार बनाउने तथा राष्ट्रियता र राष्ट्रिय एकतालाई प्रवद्र्धन र नेतृत्व विकास गर्ने लक्ष्यका साथ सेवा दलको तालिम शुरु गरिएको हो । अतिरिक्त लक्ष्यमा नेपालमा मानवसिर्जित वा दैवी विपत्तिका बेला सङ्गठित भएर खोजी, उद्धार र राहत व्यवस्थापनमा सहयोग पु¥याउने सेवा दलको उद्देश्य छ ।

प्रारम्भमा ५०० विद्यार्थीलाई तालिमको कोटा निर्धारण गरेको सेवा दलले अघिल्लो आवमा सात हजार ५०० लाई तालिम दियो । आगामी कार्यक्रममा जुनियर डिभिजनमा सात हजार ९५० र सिनियर डिभिजनमा तीन हजार ६०० छात्रछात्रालाई संस्थागत तालिम तथा सामूहिक वार्षिक क्याम्प सञ्चालन गर्ने योजना बनाइएको छ । हाल मुलुकका ७७ जिल्ला र २१३ विद्यालयमा कार्यक्रम विस्तार गरिसकेको सेवा दलले जनाएको छ ।

तालिमबाट दीक्षित क्याडेटको ज्ञान, सीप, योग्यता र क्षमता अधिकतम उपयोग हुने गरी सेना र सरोकारवाला निकायको सम्पर्कमा रही क्षमताअनुरुपको भूमिकामा संलग्न हुँदै आएका छन् । तालिमरत तथा पूर्वक्याडेटलाई एनसिसी अल्मुनाइ एशोसिएशन नेपालमार्फत सामाजिक विकृति, विसङ्गति र कुसंस्कारविरुद्ध सचेतना अभियान तथा विपद् व्यवस्थापन एवं राष्ट्रहितमा परिचालित हुने व्यवस्था मिलाइएको पूर्वउपरथी भण्डारीले जानकारी दिनुभयो । सेवा दलका कार्यक्रमलाई सहज र स्पष्ट मार्गनिर्देशका साथ अघि बढाउन राष्ट्रिय सेवा दल ऐन–२०७८, राष्ट्रिय सेवा दल नियमावली–२०७८ र राष्ट्रिय सेवा दल पूर्व छात्रछात्रा सङ्घ, नेपाल व्यवस्थापन निर्देशिका–२०७८ स्वीकृतिका लागि पेश गरिएको बताइएको छ ।

सङ्कल्प कार्डमा के छन् सन्देश 

सेवा दलले आफ्नै व्यवस्थापन तथा अन्य स्रोत साधनको समेत समन्वय गरी राष्ट्रियता, देशभक्ति र राष्ट्र सेवामा समर्पित सचेत नागरिक तयार गर्न विभिन्न नारा र बुँदा समावेश गरी सङ्कल्प कार्ड वितरणको व्यवस्था मिलाएको छ । उक्त कार्डमा ‘म मेरो मातृभूमि नेपाल आमालाई अत्यधिक माया गर्दछु’, ‘मेरो देश कसैको उपनिवेश हुन नपरेकामा मलाई गर्व छ’ तथा ‘मेरो राष्ट्रको एकता, अखण्डता र स्वाधीनता मलाई प्राणभन्दा प्यारो लाग्छ’ भन्नेलगायतका सन्देश समावेश गरिएको महानिर्देशक भण्डारीले बताउनुभयो ।

राष्ट्रको धर्म, संस्कृति, रीतिरिवाज, पहिचान, सम्पदा, इतिहास, विभूति, वीरपुर्खालाई सहृदय सम्मान गर्ने, राष्ट्र र समाजमा गलत तथा खराब क्रियाकलाप हुन नदिन आफ्नोतर्फबाट सदा क्रियाशील रहने, ‘राम्रा मानिसलाई हाम्रा भन्नुपर्दछ, हाम्रा हुँदैमा राम्रा मान्न हुँदैन’ भन्ने ज्ञान सिकाउने तथा ‘लोभ, मोह, राग, द्वेष, डाह, ईष्र्या र अनावश्यक रिसजस्ता कुभावना मेरा शत्रु हुन्’ भन्ने कुरा पनि सङ्कल्प कार्डमार्फत युवामा सन्देश प्रवाह गर्न खोजिएको छ ।

युवालाई लक्षित गरी बनाइएको सङ्कल्प कार्डमा ‘मेरा सबै क्रियाकलाप विधि र प्रक्रिया तथा प्रणाली र पद्धतिबमोजिम हुनुपर्दछ’, ‘मैले हासिल गरेको ज्ञान र सीप सधैँ राष्ट्र र राष्ट्रवासीको सेवामा समर्पित गर्नेछु’ र ‘म जुनसुकै पेशा, सेवा, कर्ममा लागे पनि आफ्नो काम, कर्तव्य र दायित्वलाई सर्वोपरी ठानी कार्यसम्पादन गर्नेछु’ भन्ने उल्लेख छ । सेवा दलको पहिलो समूहको तालिममा सहभागी हुनभएका प्राध्यापक विश्वम्भर प्याकुरेलले अनुशासन कायम गर्ने, शारीरिक अवस्था चुस्त राख्ने र आत्मनिर्भर हुन सिकाउने प्रशिक्षण सबैका लागि जीवनोपयोगी भएको प्रतितिक्रिया दिनुभयो ।

उहाँले भन्नुयभो, “तालिमका क्रममा टोखा र नगरकोटमा बाटो निर्माण गर्न खटाइयो, समयको सदुपयोग र पालना सिकाइयो, राष्ट्रियता प्रवद्र्धनलाई विशेष प्राथमिकता राखेर काम गर्न ज्ञान दिइयो, अहिलेका युवापुस्तालाई यो तालिम निकै आवश्यक र प्रभावकारी छ । जुत्ता टल्काउनेदेखि समयको पालना, आत्मनिर्भर र अनुशासनमा रहन सेवा दलको योगदान छ ।”

५६ वर्षदेखि दूध र जेरी निरन्तरता

पहिलो समूहदेखि नै छात्राको प्रवेश रहेको तालिममा सहभागी प्रशिक्षार्थीलाई खुराकस्वरुप उपलब्ध गराइन शुुरु गरिएको एक पाउण्ड दूध र १०० ग्राम जेरी दिने चलनले हालसम्म पनि निरन्तता पाउँदै आएको छ । सेवा दलले तालिममा सहभागी छात्रछात्रालाई थप उत्प्रेरित÷आकर्षित गर्न सेना दिवस तथा महाशिवरात्रिका अवसरमा आयोजित प्रदर्शनीमा सहभागी गराउँदै आएको छ । 

सेवा दलका कार्यकारी पूर्वमहानिर्देशक रमीन्द्र क्षेत्रीले सेवा दलका तालिम प्रशिक्षणअघि बढ्ने क्रममै रहेको तर  यस बीचमा सबैभन्दा ठूलो चुनौती कोरोना भएको टिप्पणी गर्नुभयो । राष्ट्रिय सेवा दलले युवालाई प्रदान गर्ने तालिम अत्यन्तै लोकप्रिय र धेरै माग भएको सरकारको राष्ट्रिय कार्यक्रम भएको बताउँदै पूर्वरथी क्षेत्रीले भन्नुभयो, “सेवा दलमा दरबन्दी हाल ३५० मात्र छ, ठूलो सङ्ख्यामा छात्रछात्रालाई तालिम दिन थोरै जनशक्ति आफँैमा पनि एउटा चुनौती हो ।” नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कलेज जीवनमा राष्ट्रिय सेवा दलको तालिम लिनुभएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *