विश्वको सबैभन्दा धनी हिन्दु मन्दिर, जसकाे कूल सम्पत्ति २५ खर्ब रुपयाभन्दा धेरै छ

इन्भेष्टाेपेपर ।  कार्तिक २२, २०७९

नयाँ दिल्ली (भारत) । भारतको तिरुमाला तिरुपति मन्दिरको कूल सम्पत्ति २५ खर्ब रुपयाभन्दा धेरै (३० अर्ब डलर) छ । मन्दिरले शनिवार सार्वजनिक गरेकाे विवरण अनुसार मन्दिरसँग राष्ट्रिय बैंकहरूमा १० दशमलव ३ टन बराबरको सुन र १ खर्ब ५९ अर्ब ३८ करोड रुपया निक्षेप छ । 

मन्दिरसँग भएको सुनको मूल्य करिब ५३ अर्ब रुपया हाे । देशभरका विविध स्थानमा मन्दिरको नाममा ७ हजार १२३ एकड जमिन र ९६० ओटा भौतिक पूर्वाधार छन् । मन्दिरसँग चाँदीसहितका विभिन्न बहुमूल्य धातु/पत्थर, सिक्का र विभिन्न कम्पनीको शेयर पनि छन् । 

गएको तीन वर्षमा मात्रै मन्दिरको निक्षेप २९ अर्ब रुपया र सुन सञ्चिति २ दशमलव ९ टनले बढेको छ । यो मन्दिर विश्वको सबैभन्दा धनी हिन्दु मन्दिर हो । सन् १९३३ मा मन्दिर स्थापना भएयता शनिवार पहिलो पटक यसले श्वेतपत्र जारी गरेको हाे । 

मन्दिरको आयस्रोत दर्शनार्थी/तीर्थयात्री व्यापारी र संघसंस्थाहरूले गर्ने दान हो । मन्दिरको सम्पत्ति कयौं देशको जीडीपीभन्दा बढी छ । मन्दिरको सम्पत्तिले ग्रिनल्यान्ड, फिजी, माल्दिभ्स, ताजिकिस्तान, दक्षिणी सुडान, नामिबिया, मंगोलिया, अफगानिस्तान, साइप्रसलगायत कैयौं देशको जीडीपीलाई उछिनेको छ । 

एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *