राष्ट्र सङ्घका महासचिवले कात्तिक १४ गते संसदमा सम्बोधन गर्नुहुने

न्भेष्टाेपेपर । कात्तिक ३, २०८०

काठमाडौं ।  इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ ।

कात्तिक २ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले यही कात्तिक १२ गतेदेखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो ।

नेपाल बसाईको क्रममा उहाँले नेपालको सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कात्तिक २ गते सङ्घीय संसद सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसको कात्तिक १४ गते अपराह्न ४ बजे सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो ।

महासचिव गुटेरेसले सम्बोधन गर्नुहुने सो बैठकमा संवैधानिक निकायका प्रमुखहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरुलगायतका विशिष्ट सरकारी अधिकारीहरुलाई आमन्त्रण गरिनेछ ।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसङ्घको ७८ औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गर्नुभएको थियो । पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेसको संयुक्त राष्ट्रसङ्घकाे महासचिवको रुपमा दोस्रो कार्यकाल हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *