यस वर्षकाे मनसुन ६ दिन ढिला गरी अक्टाेबर ८ देखि बाहिरिन शुरू

इन्भेष्टोपेपर । आश्विन २४, २०७८

काठमाडौं । यस वर्षको मनसुन औसत समयभन्दा ६ दिन ढिला गरी नेपालबाट बाहिरिन थालेको छ । मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि शुक्रवार (अक्टोबर ८)मा नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन थालेको हो । नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा पूर्ण र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ । अबको केही दिनमा देशका बाँकी भू–भागबाट मनसुन बाहिरिने अनुमान गरिएको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए ।

मौसम पूर्वानुमान महाशाखाले नियमितरूपमा मनसुन बाहिरिने प्रक्रिया अनुगमन गरिरहेकाले थप जानकारीपछि अद्यावधिक गरिने बताएको छ । विभागका अनुसार अहिले मनसुनको ठूलो प्रभाव नरहे पनि प्रदेश नं १, २, बागमती र गण्डकीमा हल्का बदलीको अवस्था छ । यद्यपि ठूलो वर्षाको सम्भावना भने कम छ ।    

बंगालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण मुलुकको पूर्वी भेगबाट गएको जेठ २८ मा मनसुन भित्रिएको थियो । उक्त दिन नेपालको प्रदेश नं १, २ र बागमती प्रदेशमा भित्रिएकोमा जेठ ३० मा मुलुकभर नै फैलिएको थियो । सरदरभन्दा बढी पानी पर्ने आकलन गरिएको नेपालमा सोहीअनुसार नै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

सामान्यतया विगतमा १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ थियो । त्यसको २ दिनअघि नै मनसुन भित्रिएको थियो भने ६ दिनपछि बाहिरिन थालेको छ । सरदर वर्षाको आँकडा विश्लेषण गरेर मनसुनको मिति तय गरिनेछ । कहिलेकाहीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने र बाहिरिने गर्छ । यसपालि पनि त्यही भएको मौसमविद्को भनाइ छ । यसपालिको मनसुनका समयमा मुलुकका धेरैजसो भू–भागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गत वैशाखमा गरिएको थियो ।    

नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायु प्रारूपको अनुमान, यूरोप तथा एशियामा गत हिउँद तथा प्रिमनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत ध्यानमा राखेर पूर्ण मनसुनको आकलन गरिन्छ ।    

तर यो जलवायु प्रणाली विभिन्न ऋतुगत सामुद्रिक तथा वायुमण्डलीय प्रणाली, भू–उपयोग आदिमा निर्भर हुने र जलवायु प्रारुपहरू यस्ता प्रणालीको ऋतुमा हुने परिवर्तनले विश्वसनीय पूर्वानुमान गर्न भने कठिन हुने विज्ञहरूको भनाइ छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *