कुशलतापूर्वक जिम्मेवारी सम्पन्न गर्न आयुक्त डा. तुलाधरको निर्देशन
इन्भेष्टाेपेपर । वैशाख १२, २०७९
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन मनोनयन दर्ताको दोस्रो दिन निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले सोमबार तारकेश्वर नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
निर्वाचन अधिकृत चपला पोखरेलका अनुसार तारकेश्वर नगरपालिका धर्मस्थली काठमाडौंमा रहेको निर्वाचन अधिकृतको कार्यालयको उहाँले अनुगमन तथा निरीक्षण गर्नुभएको हो । आयुक्त डा. तुलाधरले निर्वाचन अधिकृतको कार्यालय, मनोनयनदर्ताको लागि गरिएको तयारीबारे जानकारी लिनुहुँदै आवश्यक सहयोग र समन्वयका लागि आयोगमा सम्पर्क राख्न आग्रह गर्नुभयो ।
सोहीअनुसार आयुक्त डा. तुलाधरले काठमाडौं उपत्यकाका प्रायः सबैजसो निर्वाचन अधिकृतको कार्यालयमा महिला निर्वाचन अधिकृतहरुलाई खटाइएकोमा खुशी व्यक्त गर्नुभयो । आयोगले दिएको जिम्मेवारी पूर्ण बफादार भई कुशलतापूर्वक सम्पन्न गर्न गराउन निर्देशन पनि उहाँले दिनुभयो । निर्वाचन आचारसंहिता पालनामा कडाई गर्न निर्वाचन अधिकृतको कार्यालय, प्रहरी शासन एवम् सुरक्षाकर्मीलाई उहाँले निर्देशन दिनुभयो ।
सो अवसरमा निर्वाचन अधिकृत पोखरेलले निर्वाचन कार्यालय अन्तर्गतका मतदान केन्द्र र निर्वाचनसँग सम्बन्धित हालसम्म भएका कार्यप्रगतिबारे जानकारी गराउनुभएको थियो । आजै डा. तुलाधरले नागर्जुन नगरपालिको निर्वाचन अधिकृतको कार्यालयको पनि निरीक्षण गर्नुभएको छ ।
