आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११३औँ जन्मजयन्ती

इन्भेष्टाेपेपर । भाद्र २४, २०८३

काठमाण्डौ । आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११३औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याएका कोइरालाको १९७१ साल भदौ २४ गते जन्म भएको थियो । तत्कालिन राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालासहित परिवार भारत निर्वासनमा जानुपरेको थियो ।

भारत निर्वासनकै क्रममा राणा शासनको अन्त्य गर्न २००३ सालमा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । प्रजातन्त्र स्थापनाको लक्ष्यसहित भएको आन्दोलन २००७ मा सफल भएको थियो ।

यो सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बन्नुभयो । त्यस्तै २०१५ सालको आमचुनावमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि उहाँ प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो ।

२०१७ साल पुस १ मा तत्कालिन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । पछि नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायतलाई सुन्दरीजल बन्दीगृहमा सारियो ।

२०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो । उहाँले त्यसबेला अपनाएको मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ ।

क्यान्सर रोगबाट पीडित बिपीको २०३९ साल साउन ६ गते निधन भएको थियो । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक बिपी कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबु, आमा र छोरा’ ‘श्वेत भैरवी’, ‘दोषी चश्मा’ लगायत चर्चित कृति रहेका छन् ।

बिपी जयन्तीका अवसरमा आज कांग्रेस, भ्रातृ एवं शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । याे समाचार उज्यालाे खवर पत्रिकामा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *