टोकियो ओलम्पिक : चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै
इन्भेष्टोपेपर । श्रावण १८, २०७८
काठमाण्डाैं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै रहेकाे छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । कूल पदक तालिकामा भने अमेरिका अगाडि रहेकाे छ ।
चीनले हालसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्यसहित कूल ५१ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २० स्वर्ण, २३ रजत र १६ कास्यसहित कूल ५९ पदक प्राप्त गरेको छ भने जापानले १७ स्वर्ण, ५ रजत र ९ कास्य पदकसहित कूल ३१ पदक प्राप्त गर्न सफल भएको छ ।
यसैगरी अस्ट्रेलिया १४ स्वर्ण, ३ रजत र १४ कास्य पदकका साथ चाैथाे स्थानमा रहेको छ । अष्ट्रेलियाले जापानसंग समान ३१ पदक प्राप्त गरेकाे छ । यस्तै १२ स्वर्ण, १९ रजत र १३ कास्य पदककासाथ ४४ पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचाैं स्थानमा रहेको छ ।
संयुक्त अधिराज्य बेलायत १० स्वर्ण, १० रजत र १२ कास्यसहित ३२ मेडलकासाथ छैटौँ र फ्रान्स ५ स्वर्ण, १० रजत र ६ कास्यका साथ सातौँ स्थानमा रहेका छन् । फ्रान्सले अहिलेसम्म कूल २१ पदक हात पारेकाे छ ।
यसैगरि दक्षिण काेरियाले ५ स्वर्ण, ४ रजत तथा ८ कास्य पदक प्राप्त गरेर आठौँ स्थानमा समेटिएकाे छ भने इटाली ४ स्वर्ण, ८ रजत र १५ कास्यका साथ नवौँ स्थानमा उब्लिएकाे छ तथा नेदरलैण्डले ४ स्वर्ण, ७ रजत र ६ कास्य जित्दै पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ७६ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी हुनुभएकाे थियाे । तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरी पराजित भई प्रतियोगिताबाट बाहिरिनुभएको छ ।
परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल तथा सिंहले १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दाैडमा प्रतिस्पर्धा गर्नुभएको थियो ।
