टुटल र पठाओलाई कारबाही नगर्न यातायातमन्त्रीकाे निर्देशन
मंसिर १२, २०७६
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले अनलाइन यातायात सेवाप्रदायक कम्पनी टुटल र पठाओका सवारीसाधनलाई कारबाही नगर्न निर्देशन दिएका छन् । मन्त्री नेम्वाङले आफू मातहतका पदाधिकारीलाई बोलाएर यस्तो निर्देशन दिएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले बताए ।
ज्ञवालीका अनुसार यस्ता कम्पनीले दिने सेवाका बारेमा कानून नबनेसम्म सञ्चालनमा अवरोध नगर्न र यथास्थितिमा चल्न दिन मन्त्री नेम्वाङले निर्देशन दिएका हुन् । यातायात व्यवस्था विभागले गत साता निजी सवारीसाधनले भाडामा यात्रु बोकेको पाइएमा कारबाही गर्ने सूचना निकालेकोे थियो ।
सोही सूचनाका आधारमा गत आइतवार महानगरीय ट्राफिक वृत्त स्वयम्भूले एक जना पठाओ चालकलाई कारबाही गरेको थियो । कारबाहीपछि विवाद बढेकाले सोमवार मन्त्रालयमा बसेको बैठकमा मन्त्री नेम्वाङले यस्तो सेवाका सम्बन्धमा कानून संशोधन गर्नुपर्ने भए यथाशीघ्र प्रतिवेदन बनाई पेश गर्न निर्देशन दिएका थिए ।
विभागले संघीय सवारी तथा यातायात ऐन बनाइरहेकाले उक्त ऐनमार्पmत यस्तो सेवालाई कानूनी दायरामा ल्याउने विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउँछन् । ‘हामी ऐन बनाएर मन्त्रालयमा पेश गर्ने तयारीमा छौं,’ उनले भने, ‘उक्त ऐनपछि यस्ता कम्पनीको विवाद टुंगो लाग्छ ।’ अन्य यातायात व्यवसायी र राइड शेयरिङ कम्पनीलाई एउटै कानूनी दायरामा ल्याउने गरी ऐन बनाउने तयारी गरिरहेकोमा नम्बरप्लेट के गर्ने भन्ने छलफल हुन बाँकी रहेको उनले बताए ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ (२) मा निजी सवारीसाधनलाई भाडाको यातायात सेवाका रूपमा प्रयोग गर्न नपाइने व्यवस्था छ ।
उक्त ऐनअनुसार टुटल र पठाओको सेवा गैरकानूनी भएको भन्दै गतवर्ष माघमा पनि विभागले कारबाही अघि बढाएको थियो । तर, कारबाहीको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राइड शेयरिङलाई नयाँ ऐन बनाएर समेट्न भन्दै कारबाही नगर्न निर्देशन दिएका थिए ।
ट्याक्सी व्यवसायीले भने टुटल पठाओ जस्ता कम्पनीका सवारीसाधनलाई कारबाही नगरे त्यस्ता सवारीलाई प्रतिरोध गर्ने चेतावनी दिएका छन् । मंगलवार व्यवसायीले सरकारले यस्तो सेवाको संरक्षण गरे सरकारविरुद्ध उत्रिने चेतावनीसहित पत्रकार सम्मेलन गरेका थिए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
