लयमा फर्किंदै उपल्लो मुस्ताङको पर्यटन

इन्भेष्टाेपेपर । आश्विन २३, २०८३

मुक्तिनाथ (मुस्ताङ) । बाढीपहिरोका कारण रोकिएको प्रवेशाज्ञा (परमिट) खुला भएपछि उपल्लो मुस्ताङमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ । पछिल्लो एक सातामा ३३ देशका २९७ विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेपछि पर्यटन व्यवसाय पुनः लयमा फर्किन थालेको हो ।

दुई साताअघि आएको बाढीपहिरो र नदी कटानले सडक तथा पदमार्गमा क्षति पुर्‍याएपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले उपल्लो मुस्ताङ प्रवेशका लागि परमिट जारी गर्न रोकेको थियो । प्राकृतिक विपत्तिका कारण मुख्य पर्यटकीय याममै सुस्ताएको पर्यटन गतिविधि परमिट खुलेसँगै बढ्न थालेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो ।

उहाँका अनुसार फ्रान्स, अमेरिका, चीनलगायत देशबाट पर्यटक आउन थालेका छन् । बर्खा सकिएलगत्तै सुरु हुने पर्यटकीय याममा बाढीपहिरो र हिमपातले असर गरे पनि सडक तथा पदमार्गको मर्मत र मौसम अनुकूल भएसँगै पर्यटकको चहलपहल बढेको हो ।

“पर्यटकको आगमन बढ्न थालेको छ, अब आन्तरिक पर्यटकले समेत उपल्लो क्षेत्र भरिभराउ हुन्छ,” पौडेलले भन्नुभयो ।

सडक सञ्जाल अवरुद्ध भएपछि पोखराबाट हवाई मार्ग हुँदै जोमसोम पुगेका पर्यटक पैदल तथा सडक मार्ग प्रयोग गरेर लोमान्थाङ प्रवेश गर्ने गरेका छन् । बेनी–जोमसोम–कोरला सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङ पुग्ने पर्यटक प्रभावित भएका थिए । चर्चित थोराङ्ला पासलगायतका साहसिक पदमार्गमा समेत प्राकृतिक विपत्तिले असर पुर्‍याएको थियो ।

मुस्ताङमा सडक मार्गसँगै विभिन्न पदमार्ग हुँदै पर्यटक आउने गरेका छन् । मुस्ताङ र मनाङ जोड्ने सरिबुङ पास, मोसोकुन्दो पास र थोराङ्ला पास, मुस्ताङ–डोल्पा जोड्ने याकखर्क तथा म्याग्दी–मुस्ताङ जोड्ने धौलागिरि पदमार्गका धम्पुस पिक हुँदै पर्यटक पदयात्रामा निस्कने गर्छन् । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक र मनाङको तिलिचो ताल हुँदै पनि पर्यटकको आवागमन हुने गरेको छ ।

प्राकृतिक विपत्तिबाट प्रभावित पर्यटन व्यवसायी चाडपर्व नजिकिँदै गर्दा पर्यटकको आगमन बढ्ने आशामा छन् । मुस्ताङमा वसन्त र शरद् ऋतु विदेशी पर्यटकका लागि मुख्य पर्यटकीय याम हुन् । यस समयमा पर्यटक पदयात्रा र सडक मार्ग हुँदै मुस्ताङ पुग्ने गर्छन् ।

मुस्ताङमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० ले प्रवेशाज्ञाबापत सार्क राष्ट्रका पर्यटकबाट एक हजार रुपियाँ र तेस्रो मुलुकका पर्यटकबाट तीन हजार रुपियाँ शुल्क लिने गरेको छ । अर्धनिषेधित क्षेत्रका रूपमा रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ, लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न पर्यटकीयस्थल भ्रमण गर्ने विदेशी पर्यटकले प्रतिदिन ५० अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था छ ।

उपल्लो मुस्ताङ पुग्ने विदेशी पर्यटक कोरला नाका क्षेत्रभन्दा पनि प्राचीन मानव बस्ती, गुफा, गुम्बा, लोमान्थाङ दरबार, परम्परागत माटोका घर तथा स्थानीय रहनसहन, संस्कृति र जीवनशैली अवलोकनमा बढी समय बिताउने गर्छन् । नेपाल सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङलाई विदेशी पर्यटकका लागि खुला गरेको थियो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *