जोर्ज फ्लोइड मृत्यु प्रकरण: प्रदर्शन अन्त्यका लागि सेना र प्रहरी परिचालन गर्दै ट्रम्प
इन्भेष्टोपेपर । जेष्ठ २०, २०७७
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभरि विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेका बेला त्यसको अन्त्यका लागि हजारौँ सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन्।
प्रहरी हिरासतका क्रममा एक अफ्रिकी अमेरिकी निहत्था व्यक्ति जोर्ज फ्लोइडको मृत्युलाई लिएर देशभर प्रदर्शनहरू भइरहेका बेला उनले यस्तो बताएका हुन्।
उनले भने, “दङ्गाबाट हाम्रो अति विपन्न समुदायका शान्तिप्रेमी नागरिकहरू सबैभन्दा पीडित भएका छन् र राष्ट्रपतिका हैसियतले म उनीहरूलाई सुरक्षित राख्नका लागि सक्दो प्रयास गर्छु।”
पत्रकारसँग बोलेपछि ट्रम्प ह्वाइट हाउसबाट नजिकै रहेको एउटा गिर्जाघरसम्म सुरक्षाकर्मी लिएर पैदल गएका थिए। उक्त गिर्जाघरमा प्रदर्शनका क्रममा क्षति पुगेको थियो। ह्वाइट हाउसबाहिर प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेको थियो।

ट्रम्पले देशभर प्रहरीको बर्बरताविरुद्ध भएका हिंसात्मक प्रदर्शनहरूमा हाबी हुन राज्यका गभर्नरहरूलाई आह्वान गरेका छन्।
जोर्ज फ्लोइड मृत्यु प्रकरणको विरोधमा आयोजित प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा निषेधाज्ञा जारी गरिएको छ।
देशभरि आयोजित विरोध प्रदर्शन नियन्त्रण गर्न दङ्गा प्रहरीलाई खटाइएको छ। प्रहरीको सवारीसाधनमा आगो लगाइएपछि उनीहरूले अश्रुग्यास र रबरका गोली प्रहार गरेका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले “लुटेरा र अराजकहरू”ले हिंसा फैलाएको आरोप लगाएका छन्।
एक साताअघि देखापरेको भिडिओमा एकजना श्वेत प्रहरीले जोर्ज फ्लोइडले सास फेर्न गाह्रो भयो भनेर अनुरोध गर्दा पनि गर्दनमा निरन्तर रुपमा घुँडाले थिचिरहेको देखिन्छ। उक्त घटनाले देशभर अशान्त अवस्था बनाएको छ। अमेरिकाका विभिन्न सहरमा प्रदर्शनहरू भइरहेका छन् र दशकौँमा यो स्तरमा अशान्ति नदेखिएको बताइएको छ।
— बीबीसीबाट
