बिक्री लक्ष्य पूरा गर्दै उदयपुर सिमेन्ट

इन्भेष्टाेपेपर ।  वैशाख १३, २०७९

काठमाडौं । कमजोर व्यवस्थापकीय क्षमताका कारण बन्दप्रायः रहेको नेपालकै प्रख्यात उदयपुर सिमेन्ट उद्योगले पछिल्लो समय तीव्र गतिमा फड्को मारेको छ । गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले चालु आवको नौ महिनामा १८ लाख ९ हजार बोरा सिमेन्ट बिक्री गरेको छ । उद्योगले आव २०७८/७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको थियो । बिक्री लक्ष्य भेट्टयाउने उद्देश्यसहित उद्योगका सम्पूर्ण कर्मचारी अगाडि बढेका छन् ।

उद्योगका प्रवक्ता लक्ष्मण पोखरेल चालु आवको बिक्री लक्ष्य पूरा भए बर्सेनि भइरहेको करिब रु ३० करोड घाटा पूर्ति गरी उद्योग सामान्य नाफामा जाने बताउनु भयाे। यद्यपि, उद्योगलाई आवश्यक पर्ने डिजेल, कोइला, जिप्सम तथा आइरन ओर आदिको मूल्य झण्डै दुई गुणा वृद्धि भएको तथा सिमेन्टको माग घटेको अवस्थामा यसले प्रभाव पार्न सक्ने उहाँको चिन्ता छ ।

‘२० लाख बोरासम्म बिक्री गर्दा कुनै ‘इन्सेन्टिभ’ नपाउने तर सो माथि बिक्री भएमा प्रतिबोरा रु १० को दरले इन्सेन्टिभ पाउने भएपछि कर्मचारीमा उत्साह छाएको छ’, उहाँले भन्नुभयाे, ‘उद्योगलाई नाफामा लैजान सक्दा बोनसलगायतको सुविधा पाइने, नगद प्रवाह राम्रो हुने भएकाले सबै कर्मचारी लक्ष्य पूरा गर्न लागिपरेका छन् ।’

पछिल्ला समय उद्योगको वित्तीय स्थिति स्वस्थ्य बनेको छ । उद्योग व्यवस्थापनले आव २०७७/७८ को वित्तीय विवरण तयार गरी सम्पत्ति र दायित्वको यथार्थ मूल्याङ्कन गरिसकेको छ । उद्योगले गत आवसम्मको रु पाँच अर्ब ४९ करोड ८६ लाख ४७१ नोक्सानी पूर्ति गरी रु ५६ करोड करोड ३८ लाख ८६ हजार ८४१ बचत गर्न सफल भएको छ । उद्योग सञ्चालक समितिले आगामी जेठ ३० गते बस्ने वार्षिक साधारणसभाबाट आव २०७७/७८ को वित्तीय विवरण पारित गर्ने निर्णय गरिसकेको छ ।

महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको अगुवाईमा स्पष्ट भिजन, पारदर्शी कारोबार र २४ सै घण्टा उद्योगको लागि समर्पित भावनाको फलस्वरूप उद्योगले हर क्षेत्रमा प्रगति हासिल गर्न सफल भएको उद्योगका कर्मचारीको भनाइ छ । क्रियाशील ट्रेड युनियनसमेतले उद्योग सञ्चालनमा व्यवस्थापनलाई हरतरहले सहयोग गरिरहेका छन् । गैँडाछाप सिमेन्टलाई क्षेत्रीय बजारमा प्रवेश गराउने महाप्रबन्धक न्यौपानेको लक्ष्य छ ।

‘अहिलेसम्म लक्ष्य पूरा गरिरहेका छौं, यदि उत्पादनले साथ दिए बाँकी अढाइ महिनामा ६ लाख बोराभन्दा पनि अझ बढी बिक्री हुने गरी बजार विस्तार भएको छ’, बिक्री विभाग प्रमुख राम जिसीले भननुभयाे, ‘गैँडाछाप सिमेण्ट पाइँदैन, पाइए पनि महँगो छ भन्ने सोचलाई चिर्न महाप्रबन्धक न्यौपानेले स्वयम् अधिकृत बिक्रेताका पसल पसलमा पुगेर सिमेन्टको उत्पादन नियमित हुने प्रतिबद्वता जनाउनुभएको थियो, जसको कारण आज हामी लक्ष्य पूरा गर्ने दिशामा अग्रसर भइरहेको छौँ ।’

बिक्री नीति लागू गरी बिक्रेतालाई इन्सेन्टिभको व्यवस्था गरिएको छ । गैँडाछाप सिमेन्टको गुणस्तरका बारेमा उपभोक्ता सचेतना पनि बढाइएको उद्योगको भनाइ छ । पूर्वाञ्चल र मधेसका जनतामा गैँडा छाप सिमेन्टप्रति विश्वास छ । थोरै मूल्य बढी भए पनि सचेत उपभोक्ताले गैँडा छाप सिमेन्ट नै खोजीखोजी प्रयोग गर्ने गरेको उहाँको दाबी छ ।

‘कच्चापदार्थको मूल्य आकाशिए पनि हामीले प्रति बोरा कारखाना मूल्य ७२३ रुपैयाँ २० पैसालाई कायमै राख्दा अरु उद्योगले समेत मूल्यवृद्धि गर्न सकेका छैनन्, यसबाट उद्योगले केही घाटा व्यहोर्नुपर्ने भए पनि आम उपभोक्ताको लागि फाइदा हुने र समग्र सिमेन्टको मूल्य नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका रहेको छ’, बिक्री प्रमुख जिसीले भन्नुभयाे । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *