उँधौली पर्वले आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा सघाउ पुर्याउने

इन्भेष्टोपेपर । पुष ४, २०७८

काठमाडौँ  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरण संरक्षण अपरिहार्य रहेको बताउनुभएको छ । उँधौली चाडको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई यो चाडले थप उजागर गर्ने गरेको उल्लेख गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ऋतु परिवर्तनको प्राकृतिक चक्रसँगै आफ्नो जीवनचर्यालाई एकाकार बनाउन अभ्यस्त प्रकृति र पितृपूजक किरात समुदायको यो चाडले नेपालीको मौलिक सांस्कृतिक परम्परालाई समृद्ध तुल्याएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले किरात समुदायको महान् चाड उँधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति, भाषाभाषीबीच एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उँधौलीको अवसरमा एक सन्देश जारी गर्नुहुँदै उहाँले नेपालको उच्च पहाडी भू–भागमा ठूलो सङ्ख्यामा बसोवास गर्ने किरात समुदायद्वारा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन मनाउने उँधौली चाडको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

‘‘भूमिको श्रद्धासाथ पूजा–अर्चना गर्दै यस वर्षको अन्नका लागि भगवान्लाई धन्यवाद दिँदै आउँदो वर्ष राम्रो उब्जनीको प्रार्थनासमेत गर्ने चलन छ,” सन्देशमा भनिएको छ, ‘‘यसले किरात सम्प्रदायमा आफ्नो मातृभूमिप्रतिको आगाध प्रेम र देशभक्तको भावना रहेको दर्शाउँछ ।’’ किरातहरू आफूलाई भूमिका सन्तान मान्छन् र यस दिनलाई पवित्र भूमिपूजाका रूपमा पनि लिइने सन्देशमा उल्लेख छ । किरात समुदायका राई, लिम्बू, सुनुवार र याख्खाहरूको महान् चाड उँधौली चाड हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु भई १५ दिनसम्म विभिन्न कार्यक्रमसाथ मनाउने गरिन्छ ।

यसैबीच, सभामुख अग्निप्रसाद सापकोटाले किरात समुदायभित्रका राई, लिम्बू, याख्खा, सुनुवार, थामी, सुरेल, हायूलगायतले मनाउने उँधौलीका अवसरमा यो चाड मनाउने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ । (गाेरखापत्र)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *