पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह

न्भेष्टाेपेपर । भाद्र २२, २०८०

काठमाण्डाैँ । आउँदो २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ ढुक्क भएर लगाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले खोपको प्रभावकारिता रहेकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभएको हो ।

उहाँले यो खोपको दुई मात्रा लगाए पनि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशतले रोकिने बताउनुभयो ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि यो खोप प्रमाणीकरण गरेको छ भने औषधि व्यवस्था विभागले पनि खोपको प्रयोगका लागि अनुमति दिइसकेको छ ।

आउँदो २७ गतेदेखि सातै प्रदेशका सात अस्पतालबाट १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका झण्डै ९ हजार ५ सय जना किशोरीलाई खोप लगाइने छ । गएको असारमा सरकारले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको थियो । यो खोपको दुई मात्रा दिनु पर्ने हुन्छ । १० हजार जना किशोरीलाई दिन पुग्ने भए पनि प्राविधिक कारणले केही खोप खेर जान सक्छ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले अहिले पहिलो मात्रा र छ महिनापछि दोस्रो मात्रा खोप दिइने बताउनुभयो ।  यसअघि १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई दिइने भनिए पनि खोप पर्याप्त नभएकाले अहिले १४ पूरा भइ १५ वर्ष ननाघेकालाई दिन लागिएको महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो ।

पर्याप्त मात्रामा खोप आएपछि १० देखि १४ वर्षका सबै किशोरीलाई खोप दिइने उहाँले बताउनुभयो । उहाँका अनुसार थप खोप आउन समय लाग्ने भएकाले अहिले १४ वर्ष पुगेका किशोरीहरु छुट्ने जोखिम रहेकाले पहिलो प्राथमिकतामा अहिले उनीहरुलाई दिइएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *