इरानविरुद्ध अमेरिका र इजरायलको सैन्य आक्रमण

इन्भेष्टाेपेपर ।  फागुन १६, २०८२

दुबई ।  इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई ‘आफ्नो सरकार लिन’ अपिल गर्नु भएको छ । 

राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय नजिकै पहिलो स्पष्ट आक्रमण भएको रिपोर्ट आएको छ । त्यसपछि सहरका विभिन्न भागबाट धुवाँ उठेको देखिएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा सार्वजनिक गर्नु भएको भिडियो सन्देशमा अमेरिकाले ‘इरानमा प्रमुख लडाइँ अपरेसन’ सुरु गरेको बताउनुभयो । 

उहाँले इरानले आणविक कार्यक्रम विस्तार गर्दै अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र विकासको योजना बनाएको दाबी गर्नुभयो । यसैबिच, ८६ वर्षीय खामेनी आक्रमणका बेला कार्यालयमा हुनुहुन्थ्यो कि हुनुहुन्न भन्ने स्पष्ट भएको छैन । अमेरिकासँग बढ्दो तनावका कारण उहाँ केही दिनयता सार्वजनिक रूपमा देखिनु भएको थिएन ।

आक्रमण अमेरिकाले इरानमाथि आणविक सम्झौताका लागि दबाब बढाउँदै क्षेत्रमा लडाकू जेट र युद्धपोत तैनाथ गरिरहेको अवस्थामा भएको हो । इजरायली अभियानमा इरानी सेना, सरकारी प्रतीक तथा गुप्तचर संरचना लक्षित गरिएको एक अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् ।

तेहरानमा खामेनीको कम्पाउन्ड जाने सडक बन्द गरिएका छन् भने राजधानी भर अन्य विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् । इरानी राज्य टेलिभिजनले विस्फोटको पुष्टि गरे पनि विस्तृत विवरण दिएको छैन । इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ र मोबाइल सेवा पनि अवरुद्ध गरिएको छ । 

छिमेकी इराकले पनि हवाई क्षेत्र बन्द गरेको यातायात मन्त्रालयले जनाएको छ । इजरायल भर साइरन बजाइएको छ र सम्भावित क्षेप्यास्त्र प्रहारका लागि जनतालाई सतर्क रहन चेतावनी दिइएको छ । इजरायलका अस्पतालले आकस्मिक प्रोटोकल लागु गर्दै बिरामी र शल्यक्रियालाई भूमिगत सुविधामा सार्ने तयारी गरेका छन् । 

इजरायलले आफ्नो हवाई क्षेत्र पनि बन्द गरेको जनाएको छ । इरानले तत्काल प्रति आक्रमण गर्नेबारे स्पष्ट गरेको छैन, तर क्षेत्र भर रहेका अमेरिकी सैन्य अड्डा र कर्मचारी सम्भावित जवाफी कारबाहीको लक्ष्य बन्न सक्ने चेतावनी दिएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमण ‘धम्की हटाउने’ उद्देश्यले गरिएको बताउनु भएको छ, यद्यपि विस्तृत विवरण सार्वजनिक गरिएको छैन । अहिलेसम्म हताहतबारे आधिकारिक जानकारी आएको छैन । घटना क्रमले मध्यपूर्वमा थप सैन्य टकरावको जोखिम बढाएको विश्लेषण गरिएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *