मानवअधिकार हनन गरेको भन्दै चीन बिरुद्ध अष्ट्रेलियाको कदमलाई अमेरिकाको समर्थन
इन्भेष्टोपेपर । चैत्र ०३, २०७७
क्यानबेरा। चीनमा अल्पसंखयक मुस्लिम उईघुर जातिमाथि दमन गरेको बिषयमा चीन बिरुद्ध अष्ट्रेलियाले लिएको कदमलाई अमेरिकाले समर्थन गरेको छ । चीनको सिन्जियानमा अल्पसंख्यक उईघुरको बाध्य श्रमबाट उत्पादित सामाग्री आपूर्तिमा प्रतिबन्ध लगाउने अष्ट्रेलियाको बिधेयक प्रस्ताबलाई अमेरिकाले समर्थन जनाएको हो।
चीनमा मानव अधिकार र श्रम अधिकार दुरुपयोग बिरुद्ध अष्ट्रेलिया सरकारसँग वार्ता गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले बताएको छ । सिन्जियानमा बाध्य श्रम जस्तो आधुनिक दास प्रवृति बिरुद्ध अष्ट्रेलियाको प्रस्ताबित बिधेयक पर्याप्त नभएको प्रतिक्रियाहरु आएपछि अमेरिकाले अष्ट्रेलिया सरकारसँग वार्ता गर्ने बताएको हो।
सिन्जियान तथा बाध्य श्रमबाट उत्पादित सामाग्री चीनको सबै ठाउँबाट निर्यात गर्न प्रतिबन्ध लगाउने बारे दक्षिण अष्ट्रेलिया राज्यका सांसद रेक्स पेट्रिकले प्रस्ताब पेश गरेका हुन्। अमेरिकाले यो प्रस्ताबको सबै पक्षमा समर्थन गर्ने बताएको छ ।
विश्व व्यापारमा कटन र कुनै पनि उत्पादन बाध्य श्रमबाट नहोस् भन्ने सुनिश्चिता गर्न अष्ट्रेलिया सँग सहकार्य गर्ने अमेरिकाले बताएको छ । अष्ट्रेलीया, अमेरिका, कयानडा र बेलायतले चीनमा उईघुरमाथि दमनको आलोचना गर्दै सिन्जियान बाट बिशेष गरि निर्यात हुने कटनमा प्रतिबन्ध घोषणा गरिसकेको छ ।
