अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना

न्भेष्टाेपेपर । मंसिर २५, २०८१

काठमाण्डाैँ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) को विशेष अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एक वक्तव्य जारीगर्दै शुभकामना व्यक्त गर्नुभएकाे छ ।

मानव अधिकार सबै व्यक्तिको सम्मान, गरिमा र स्वतन्त्रतालाई सुनिश्चित गर्ने सिद्धान्तहरुमा आधारित छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाबाट मानव अधिकारको विश्वव्यापी घोषणापत्र (यूडीएचआर) लाई अंगीकार गरेको दिनको सम्झनामा यो दिवस प्रत्येक वर्ष मनाईदै आएको छ ।

विश्वको सबैभन्दा महत्वपूर्ण वैश्विक बाचा मध्ये एक रहेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र एउटा ऐतिहासिक दस्तावेज पनि हो । यो दस्तावेजले जाति, रंग, धर्म, लिङ्ग, भाषा, राजनीतिक वा अन्य विचार, राष्ट्रिय वा सामाजिक मूल, सम्पत्ति, जन्म वा अन्य हैसियतका आधारमा सबैले मानवको रुपमा पाउने अपरिहार्य अधिकारहरुलाई बिना कुनै पूर्वाग्रह स्थापित गरेको छ ।

यो दिवस मानव अधिकारको महत्व, समानता र न्यायको आदर्शलाई सम्झाउने महत्वपूर्ण अवसर पनि हो । यसले मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि कटिबद्ध र प्रतिबद्ध भई अघि बढ्न अभिप्रेरित गर्दछ । समाज र देशमा समानता, न्याय र आदरको भावना कायम राख्न तथा विभेद, अन्याय र अत्याचारको अन्त्यका लागि सबैको प्रयास महत्वपूर्ण छ । मानव अधिकारको उल्लंघन कुनै पनि रुपमा स्वीकार्य गर्न सकिन्न । यसका लागि सबै जागरुक र सचेत रहन सक्नु पर्दछ ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेखित बाचा, प्रतिज्ञा, प्रतिबद्धता, मर्यादा र अधिकारमा समानतामाथि निरन्तर प्रहार भईरहेको छ । विश्वले यो संगै नयाँ चुनौतीहरुको सामना गरिरहेकै बेला महामारी, द्वन्द्व, बढ्दो असमानता, नैतिक रुपमा संकटग्रस्त वित्तिय प्रणाली, जातिवाद, जलवायु परिवर्तन आदिले सिंगो विश्वलाई नराम्ररी गाँजिरहेको अवस्था छ । त्यसैले घोषणापत्रमा निहित मूल्यहरु र अधिकारहरुलाई हाम्रो सामूहिक कार्यका लागि दिशानिर्देश गर्ने सूत्रका रुपमा अंगिकार गर्न झनै आवश्यक छ ।

यो दिवसले हामीलाई मानव अधिकारको महत्व र त्यसको संरक्षणको लागि सबैको दायित्व, जिम्मेवारी र कर्तव्यलाई स्मरण पनि गराउँदछ । मानव अधिकारको महत्वबारे जनचेतना फैलाउन र शिक्षाको माध्यमबाट समाज र देशमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सबैलाई यो दिवसले उत्प्रेरित गर्न सकोस् भनि वक्तव्यमा उल्लेख गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *