उपराष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना

न्भेष्टाेपेपर । माघ १७, २०८१

काठमाण्डाैँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालका तामाङ लगायतका आदिवासी जनजाति समुदायले अत्यन्तै हर्षोल्लासका साथ मनाउने महान पर्व सोनाम ल्होसारको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना दिनुभएकाे छ। 

नेपालको विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो मौलिक संस्कृति र परम्परा अनुसार नयाँ वर्षका रुपमा सोनाम ल्होसार मनाउने चलन रही आएको छ । यसले हामीलाई हाम्रो मौलिक परम्परा, संस्कृति तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन गर्नुपर्ने जिम्मेवारी स्मरण गराउँदछ । यस अवसरमा आयोजना गरिने मौलिक एवम् सांस्कृतिक नाचगान र संगीतले नेपाली संस्कृतिको जर्गेना गर्नमा सघाउँदछ । ल्होसारमा पकाइने विशेष तथा परम्परागत मिठो परिकारहरूले हाम्रो रैथाने रीतिरिवाजलाई जीवन्त बनाउँदै पुस्तान्तरण गर्नमा उत्तिकै सहयोग पुगेको विश्वास व्यक्त गर्नुभएकाे छ ।

यस पर्वको मुख्य विशेषताहरुमा सामूहिकता, भूमिपूजा, कूलपूजा, दानदक्षिणा र ढोगभेटका साथ आपसमा शुभकामना आदानप्रदान गर्नु लगायतको रहेको पाइन्छ । सांस्कृतिक धरोहरका रुपमा रहेको यस पर्वलाई सम्पूर्ण नेपालीको पहिचान र आत्मसम्मानको प्रतीकको रुपमा मनाउन सक्नु पर्दछ । आपसी रीस, राग, वैमनस्यता, उच्छृंखलता, द्वन्द्व र द्वेष बिर्सेर परस्पर खुशी र उल्लास साटासाट गर्न यस पर्वले सबैलाई उत्प्रेरित गर्न सकोस्  ।

नेपालको संविधानले गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानूनी राज्यलाई अंगीकार गरेको छ । हाम्रो गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको छ । भूगोल, क्षेत्र, वर्ग र समुदाय अनुसार चाडपर्वहरुमा विविधता रहेको पाइन्छ । हाम्रो सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सहयोग पुगेको छ।

अन्त्यमा, सोनाम ल्होसारले समुदाय, समाज र देशमा सामाजिक एकता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, भाइचारा, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्दै मुलुकलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन सम्पूर्ण नेपालीलाई अभिप्रेरित गर्न सकोस् । सोनाम ल्होसारले सबैको जीवनमा प्रगति र समृद्धि ल्याओस् भन्ने कामनाका साथ यस अवसरमा पुनः एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु भनि सन्देशमा भनिएकाे छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *