थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री

न्भेष्टाेपेपर ।  चैत २३, २०८१

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरू खुलेको बताउनुभएको छ ।

बाह्रखरी अनलाइनले शनिबार गोकर्णमा आयोजना गरेको ‘एनसेल–बाह्रखरी गल्फ तथा आर्थिक सङ्गोष्ठी’ मा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइल्यान्डका व्यावसायिक समुदायबिचको अनुभव आदानप्रदान र विभिन्न सम्झौता हुनु अन्त्यन्त फलदायी कार्य भएको बताउनुभएको हो ।

थाइल्यान्डको पहिलो औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किएलगत्तै गोकर्णमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ४० प्रतिशतको हाराहारीमा युवा जनसङ्ख्या रहेको स्थितिमा भएका स्रोत साधनको प्रयोग गरे दक्ष जनशक्ति तयार गर्दै विकासको गति तीव्र बनाउनुपर्ने बताउनुभयो ।

“देशमा काम गर्न नदिने र छेक्ने मनोदशा भएमा विकासको गति रोकिन्छ । तीव्र रूपमा काम हुनका लागि सबैमा देशभक्ति हुनुपर्छ । हामीले राम्रा कानुन बनाइ ती कानुनको सही रूपमा कार्यान्वयन हुनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनताको सरकारसँग भेट हुनेबित्तिकै बैरभाव हुने स्थिति अन्त्य गर्नुपर्छ । हामीले सुशासन र सेवा प्रवाहका क्षेत्रमा प्रयास गरिरहेका छौँ । सम्भावनाहरू धेरै राम्रा छन् । थाइल्यान्डको भ्रमणबाट पनि त्यो ढोकाहरू खुलेको छ ।”

प्रधानमन्त्री ओलीले आफूले डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयनमा ल्याएको स्मरण गर्दै यस क्षेत्रमा दक्ष र रोजगारमूलक जनशक्तिको सङ्ख्या वृद्धि गरेर सूचना प्रविधिको प्रयोगबाट आर्थिक लाभ लिनसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधिको उपयोगबाट उत्पादन र उत्पादकत्व बढाउन संसदबाट हालै पारित भएको विधेयकबाट आधार तय भएको उल्लेख गर्दै सूचना प्रविधिको व्यापकताबाट आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *