कृषक र कृषि कर्म : साप्ताहिक माैसमी अवस्था तथा विविध कृषि ज्ञान

इन्भेष्टोपेपर । माघ २१, २०७८

नेपाल कृषि प्रधान देश, कृषिकाे उन्नयन बिना देश र देशबासीकाे भलाे हुन सक्दैन । अझै पनि हामी कृषिमा नयाँ प्रविधिकाे प्रयाग गरेर समुिचत लाभ लिन सकिरहेका छैनाै । समस्त कृषकसामु न त मनग्गे सेवा सुविधा पुगेकाे छ न त लगानी ।

कृषि कर्ममा अग्रिम जानकारी भयाे भने मात्र सहि समयमा सहि निर्णय गर्न सकिन्छ र जाेखिम न्यनिकरण हुन्छ । समस्त कृषककाे हितकाे लागि कृषि विभागद्वारा नियमित प्रकाशन गरिने कृषि सल्लाह बुलेटिनलाइ साभार प्रकाशित गरिएकाे छ । (अवधि: २१-२७ माघ, २०७८)

मौसमी सारांश:

गत साता देशका अधिकांश भू-भागहरुमा साप्ताहिक कुल बर्षा सरदर भन्दा कम मापन भएको छ। प्रदेश नं-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको धेरै भू-भागहरुमा ५ मि.मि. भन्दा कम बर्षा मापन भएको छ भने बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा रहेको चौतारा केन्द्रमा सबैभन्दा बढी ७.१ मि.मि. वर्षा मापन भएको छ। देशको उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम १५.0 डि.से. भन्दा बढी र उच्च पहाडी भू-भागका धेरैजसो स्थानहरुमा साप्ताहिक औसत न्यूनतम तापक्रम शुन्य डि.से. भन्दा कम मापन गरिएको छ।

पश्चिमी वायुको सक्रिय प्रभावका कारण आगामी साताको शुरुका दिनहरुमा सामान्य देखि पूर्ण बदली रहने संभावना छ भने मध्य र अन्त्यमा देशका अधिकांश भागमा आंशिक बदली रहने संभावना रहेको छ। साताको शुरुमा देशका धेरैजसो स्थानमा र अन्त्यमा प्रदेश नं-१, बागमती र गण्डकी प्रदेशमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

साताको शुरु र अन्त्यमा उच्च पहाडी/हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का/मध्यम हिमपातको संभावना छ। साताको मध्य र अन्त्यमा विहानीपख देशका तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने संभावना रहेको छ। साताको शुरुमा तापक्रममा उल्लेखनिय परिवर्तन नदेखिए पनि मध्य र अन्त्यमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम हल्का घट्ने देखिन्छ।

कृषि सारांश :

  • साताको शुरुमा देशका धेरैजसो स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेकोले हिउँदे बाली लगाइएको खेत/बारीमा पानी जम्न नदिन निकासको उचित व्यवस्था गर्नुहोस्।
  • तराई, भित्री मधेश र बेँसी (७०० मिटरसम्म) मा चैते धान खेतीका लागि सिफारिस गरिएका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते-५ र चैते-६ धानका जातहरु मध्ये उपलब्ध जातको बीउ १.५ के.जी. प्रति कठ्ठा वा २.२५ के.जी. प्रति रोपनीका दरले व्यवस्था गरि ब्याड राख्न शुरु गर्नुहोस्।
  • वसन्ते मकैका लागि उपयुक्त जातहरु अरुण-३, अरुण-४, अरुण-६, रामपुर हाईब्रिड-८ र रामपुर हाईब्रिड-१० मध्ये भरपर्दो श्रोतबाट उपलब्ध जातहरुको बीउ व्यवस्था गर्नुहोस्।
  • विभिन्न स्थानहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग देखा पर्न थालेको हुँदा आफ्नो खेतबारीमा नियमित अवलोकन गरी रोग देखिएमा नजिकको कृषि विज्ञहरुलाई जानकारी गराई व्यवस्थापनको लागी सल्लाह लिनुहोस्।
  • जाडोयाममा फलफूलका विरुवाहरु सुषुप्त अवस्थामा पुगेको हुनाले कटिङ्गद्वारा विरुवा प्रशारण गर्न सकिने अनार, अंगुर जस्ता फलफूलमा तीन आँख्ला भएको लामो शिसाकलम साइजको (१५-२० से.मी.) १ वर्ष पुरानो हाँगा छानी वालुवा, माटो र कम्पोष्ट मलखाद १:१:१ को अनुपातमा बनाइएको ब्याडमा कटिङ्ग राख्नुहोस्।
  • साताको शुरू र अन्त्यमा उच्च पहाडी तथा हिमाली भु-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात/बर्षाको सम्भावना भएकोले टुसाउन राखिएको बीउ आलुको नियमित अनुगमन गर्नुहोस्।
  • लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरि रोगी पातहरु हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता बिषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्नेगरि ३-४ पटकसम्म छर्केर उपचार गर्नुहोस्।
  • नेपालका केही स्थानहरुमा खुल्लारुपमा पालिएका स्थानीय कुखुराहरु र व्यवसायिकरुपमा पालिएका ब्रोईलर र लेयर्स कुखुराहरुमा पनि हाईली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (HPAI) पुष्टि भएको अवस्थामा आ-आफ्ना स्थानहरुमा पालिएका पंक्षीहरुमा सो रोग लाग्न नदिन आफूले पालेका पंक्षीहरु आकस्मिकरुपमा मर्न थालेमा वा श्वास-प्रश्वास सम्बन्धि रोग देखापरेमा नजिकैको पशु चिकित्सकसँगको परामर्शमा तुरुन्तै प्रयोगशाला परिक्षणका लागि पठाउनुहोस्।
  • माउमाछा स्टक गरेको पोखरीबाट परिपक्व भएका माउ छानी पोखरीमा करीव १-१.५ मिटर गहिराई सम्म पानी भरेर भाले र पोथी २:१ को अनुपातमा माछाको सेट राखी पोखरीको चारैतिर काकावन राख्नुहोस्।
  • काकाबनमा टाँसिएको अण्डाबाट कोरलिएको ह्याचलिङ्गको २४ घण्टापछि खाद्य थैली सुक्ने हुँदा उक्त ह्याचलिङ्गलाई सुरुवाती आहाराको रुपमा उमालेको अण्डाको पहेंलो भाग खुवाउनुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *