छठ पर्वको महत्त्व तथा मनाउने विधि कस्तो छ ?
इन्भेष्टाेपेपर । कार्तिक १३, २०७९
सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा छठ मनाउने गरिन्छ। तराईको साझा साँस्कृतिक धरोहरको रूपमा मनाइने छठ लक्ष्मी पूजाको ठिक चार दिनपछि कात्तिक महिनाको शुक्ल पक्षको चौथी तिथिका दिनबाट सुरु हुन्छ।
तराईका जिल्लाहरूमा मधेशी समुदायले मात्र नभई अन्य समुदायले पनि आस्थापूर्वक छठ पर्व मनाउने चलन बढेको जानकारहरू बताउँछन्।
आफूले चाहेको कुरा छठी माताले पुरा गरिदिने विश्वासका कारण व्रत बसेको वीरगन्ज कुमालटोलकी शारदा थापाले बताइन्। व्रतको प्रभावले अभाव र दरिद्रता नहुने तथा परिवारमा सुख हुने जनविश्वास छ।
छठ पर्वलाई निकै कठिन पर्व मानिन्छ। सूर्य र जलको शक्ति तथा महत्त्व झल्काउने यस पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ।
चार दिनसम्म अन्न र पानी नखाई व्रत गर्ने चलन रहेको छ । छठको व्रत महिला र पुरुष दुवैले लिने र पूजा गर्ने गरेको पाइन्छ। हिन्दूहरूले वर्षभरी उदाउँदो सूर्यलाई मात्र पूजा गरिएपनि यस पर्वमा उदाउँदो र अस्ताउँदो दुवै सूर्यलाई विशेष रूपले पूजा गर्छन्।
मनाउने विधि
कात्तिक शुक्ल पक्षमा चार दिन सम्म मनाइने छठ पर्वको पहिलो दिनलाई ‘नहाए खाएके’ दिन पनि भन्ने गरिन्छ। याे पर्वकाे दाेश्राे दिन अर्थात् पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ भने छठ पर्वको मुख्य षष्ठीको दिनलाई ‘सजिया घाट’ भनेर मनाइन्छ। चाैथाे दिन (सप्तमी तिथी)मा उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत् रूपमा समापन हुन्छ। यस दिनलाई ‘परना’ भनिन्छ ।
- पहिलो दिन: नहाए खाएके दिन व्रतालुहरूले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइधुवाई गरेर लसुन र प्याज नहालेको चोखो शाकाहारी खाना खाने गर्छन्। यस दिन छठ व्रत गर्ने व्रतालुहरूले दतिउनले मुख धुने, हात खुट्टाको नङ काट्ने र नुहाएर मात्र शुद्ध सात्त्विक भोजन ग्रहण गर्छन्।
- दोस्रो दिन: छठको दोस्रो दिन अर्थात् पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ। शनिवार परेको खरनाका दिन व्रतालुहरू दिनभरि निर्जला व्रत बसेर साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजाकोठामा माटोको नयाँ चुलो बनाउँछन्।यस्तो चुलोमा चामल र भेलीको खीर रसिआव तथा गहुँको रोटी प्रसादका रूपमा पकाउँछन्। रसिआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि व्रतालुहरूले प्रसादको रुपमा लिने चलन छ।
- तेस्रो दिनः छठको तेस्रो दिन अर्थात् षष्ठी तिथिलाई छठको मुख्य दिन मानिन्छ। जसलाई ‘सँझीया घाटे’ पनि भनिन्छ। सँझीया घाटका दिन व्रतालु महिलाहरूले नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ।
- चौथो दिन: सप्तमी तिथिका दिन झिसमिसेमै व्रतालुहरू फेरि नुहाइ धुवाइ गरी पूजा सामग्री र प्रसाद लिएर सूर्य नउदाउँदै छठ घाटमा पुग्छन्। सिरसोता वरिपरि बसेर छठी माताको गीत गाउँदै उनीहरूले श्रीमान् वा श्रीमती तथा छोरा छोरी र परिवारका सदस्यहरूको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको लागि छठी मातासँग अनुनय गर्छन्।
सप्तमी तिथिका दिन बिहान सूर्य उदाउनु भन्दा पहिले नै व्रतालुहरू सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद, फलफूल लिएर छठ घाटको जलाशयमा पस्छन् र सूर्य उदाउने क्रममा उनीहरूले सूर्य र छठीमातालाई दिन्छन्।
सूर्यलाई अर्घ दिए पछि छठ घाटमै व्रतालु महिलाहरूले एक अर्काको नाकको टुप्पा देखि सिउँदो सम्म सिन्दूर लगाइ दिन्छन्। त्यसपछि उनीहरू आ-आफ्नो घर फर्किन्छन्। उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत् रूपमा समापन हुन्छ। यस दिनलाई ‘परना’ भन्ने चलन छ। (बीबीसीबाट)
