जङ्गली रातो बाँदर र बँदेल ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा, धपाउँदा मरेमा खतवात नलाग्ने

न्भेष्टाेपेपर । माघ १४, २०८१

लामो छलफलपछि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले देशैभरि लागु हुने गरी जङ्गली रातो बाँदरलाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो।

चार वर्षअघि गरिएको एउटा अध्ययनले देशका झन्डै चार हजार वडामा बाँदरले कृषिजन्य उत्पादनमा असर गरिरहेको पाइएको थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को नियम ३६ को अधिकार प्रयोग गरी सरकारले जङ्गली रातो बाँदरलाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको जानकारी नेपाल राजपत्रमा प्रकाशित गरेको छ।

त्यसरी कृषि हानिकारक वन्यजन्तुलाई सोही सूचनामा तोकिएका सर्त र बन्देजका अधीनमा रहेर खेत, खला, बारीमा पनि बिनाअनुज्ञापत्र धपाउन, लखेट्न, पक्रन वा मार्न सकिने प्रावधान उक्त नियमावलीमा छ।

बिहीवार नेपाल राजपत्रमा प्रकाशित सूचनाले जङ्गली रातो बाँदर र जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तुका रूपमा राखिएको निर्णयबारे सूचना निकालेको थियो।

जङ्गली रातो बाँदरका बारेमा राजपत्रमा किसानको खेतबारीमा आएर बालीनाली वा धनजनको हानिनोक्सानी पुर्‍याएमा किसान एक्लैले वा सामूहिक रूपमा त्यस्तो बाँदरलाई धपाउन, लखेट्न वा पक्रन सक्ने भनिएको छ।

कुनै बाँदरलाई पक्रिएको खण्डमा सम्बन्धित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार आरक्ष कार्यालय वा त्यस्ता कार्यालय मातहतको नजिकको कार्यालयमा बुझाउनुपर्ने र सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा समेत जानकारी दिनुपर्ने जनाइएको छ।

बाँदर धपाउने, लखेट्ने वा पक्रने क्रममा त्यसको मृत्यु भएमा त्यस्तो बाँदरलाई सम्बन्धित वडाका एक जना प्रतिनिधिसहितको रोहबरमा मुचुल्का खडा गरी गाड्नुपर्ने र त्यसबारे सम्बन्धित सरकारी निकायमा जानकारी गराउनुपर्ने भनिएको छ।

जङ्गली बँदेलसम्बन्धी खण्डमा धपाउने, लखेट्ने वा पक्रने क्रममा बँदेलको मृत्यु भएको खण्डमा त्यसलाई स्थानीय वडाका प्रतिनिधिसहितको रोहबरमा मुचुल्का बनाएर गाड्न वा तौलका आधारमा मूल्य तोकी त्यसलाई बेचेर राजस्वमा रकम दाखिला गर्न भनिएको छ।

— वीवीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *