विश्वकप-२०२२ : गोल्डेन ग्लोभ्सका चार दाबेदार, कस्ले जित्ला ?

न्भेष्टाेपेपर ।  पुष २, २०७९

काठमाडौं । फिफा विश्वकपमा गोलकिपरले पाउने उच्च श्रेणीको उपाधि हो गोल्डेन ग्लोभ्स । उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपरलाई यो उपाधि प्रदान गरिने गरिन्छ ।

सन् १९९४ को विश्वकपदेखि उत्कृष्ट गोलकिपरलाई गोल्डेन ग्लोभ्स अवार्ड प्रदान गर्न थालिएको हो । शोभियत रुसका पूर्व गोलकिपर लेभ यासिनको सम्मानमा १९९४ देखि २००६ सम्म यो अवार्ड दिइएको थियो भने त्यसपछि एडिडास गोल्डेन ग्लोभ्स नाम राखिएको हो ।

फिफाको प्राविधि समूह वा प्राविधिक कमिटीले उत्कृष्ट गोलकिपरको छनोट गर्नेछन् । गोलकिपरको प्रदर्श, सेभ, पेनाल्टीसुटआउट लगायत क्षेत्रलाई हेरेर उत्कृष्ट छनोट गरिन्छ ।

जारी फिफा विश्वकप कतार २०२२ मा गोलकिपरहरुले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए । सेमिफाइनलसम्म पुगेका चार गोलकिपर उत्कृष्ट बन्ने होडमा अगाडि छन् ।

अर्जेन्टिनाका एमिलियानो मार्टिनेज, फ्रान्सका ह्युगो लोरिस, क्रोएसियाका डोमिनिक लिभाकोभिच र मोरक्कोका यासिन बोनोले आफ्नो टिमलाई सेमिफाइनल पुर्‍याउने क्रममा उत्कृष्ट प्रदर्शन गरे । यी चारै गोलकिपरमा को उत्कृष्ट बन्ला भन्ने चासो बढेको छ ।

क्रोएसियाका लिभाकोभिचले नकआउट चरणमा दुई पेनाल्टीसुटआउटमा क्रोएसियालाई जिताउन उत्कृष्ट प्रदर्शन गरे । उनले जापानविरुद्ध तीन र ब्राजिलविरुद्ध एक पेनाल्टी बचाएका थिए ।

यस्तै बोनो र मार्टिनेजले पनि एक पेनाल्टीसुटआउटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । दुवैले दुई-दुई पेनाल्टी रोकेका थिए ।

फ्रान्सका ह्युगो लोरिसले भने खेलका दौरान पनि केही राम्रा बचाउ गर्दै आएका छन् । उनी फ्रान्सका कप्तानसमेत हुन् । अर्जेन्टिना र फ्रान्स आइतबार उपाधिका लागि खेल्दैछन् ।

विश्वका उत्कृष्ट गोलकिपरहरुले यो अवार्ड जितिसकेका छन् । जर्मनीका ओलिभकर कहान, स्पेनका इकर कासिलास, इटलीका जियानलुजी बफोन, जर्मनीका मानुएल नोएर लगायतले यो अवार्ड जितेका छन् ।

पछिल्लो पटक २०१८ मा बेल्जियमका थिबाउट कोर्तवाले गोल्डेन ग्लोभ्स अवार्ड जितेका थिए । जर्मनीका ओलिभर काहन फिफा विश्वकपमा एकै संस्करणमा गोल्डेन बल र गोल्डेन ग्लोभ्स जित्ने एक्लो गोलकिपर हुन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *