विश्वकप क्रिकेट : पांच पटककाे विजेता अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फाइनलमा
Investopaper, असार २७, २०७६
घरेलु भूमिमा भएको १२औं संस्करणको विश्वकपको सेमिफाइनलमा पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई आठ विकेटले हराउँदै इंग्ल्याण्ड समग्रमा चौथो पटक फाइनलमा पुगेको हो ।
बर्मिङ्घममा भएको दोस्रो सेमिफाइनलमा टस जितेर पहिलाे व्याटिंग राेजेकाे अष्ट्रेलियाले अन्य खेलमा जस्ताे लय भेट्याउन सकेन । १४ रन जाेडदा टप अर्डरका ३ विकेट गुमाएर अष्ट्रेलिया निरिह भैसकेकाे थियाे ।

स्टिभ स्मिथ र एलेक्स क्यारीले १०३ रनको साझेदारी गर्दै अष्ट्रेलियाको इनिङ उकासेका थिए । क्यारी ४६ रन बनाएर आउट भए । सम्हालिएर खेलेका स्टिभ स्मिथ पनि व्यक्तिगत ८५ रनमा आउट भएपछि अष्ट्रेलियाकाे पारि पुरै धर्मरायाे । सबै विकेट गुमाएर ४९ ओभरमा अष्ट्रेलियाले दिएको २२४ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३२ ओभर एक बलमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।
जेसन रोय र जोनी बेयरस्टोले पहिलो विकेटका लागि १२४ रनको साझेदारी गरेपछि इंग्ल्याण्डको जितको आधार बनेको थियो । व्यक्तिगततर्फ रोयले ८५ रनको योगदान दिए भने बेयरस्टोले ३४ रन जोडे । अम्पायरकाे गलत निर्णयकाे शिकार बनेर जेसन राेय पेभेलियन फर्कन बाध्य भएका थिए ।
यस पछिकाे जाेडी जो रुटले अविजित ४९ रन बनाए भने ओयन मार्गानले ४५ रनको योगदान दिए । निकै फलाकिलाे अन्तरकासाथ अष्ट्रेलिया पराजित हुन पुग्याे । यसरी सन १९८७ काे फाइनलमा भएकाे हारकाे बदला इंगलैण्डले यसपटक सेमिफाइनलमा अष्टेलियालाइ पाखा लगाउदै लिएकाे छ ।

इंग्ल्याण्डको दुई विकेट प्याट कमिन्स र मिचेल स्टार्कले लिएका थिए । त्यसैगरि इंगलैण्डका क्रिस वाेक्स र रसिदले समान ३/३ विकेट लिएका थिए भने जोफ्रा आर्चरले दुई विकेट हात पारे ।
तीनपटक फाइनलमा प्रबेश गरेता पनि इंगलैण्डले विश्वकप चुम्न पाएकाे छैन भने गत विश्वकपमा फाइनलमा पुगकाे न्यूजिल्याण्ड पनि उपविजेतामै सिमित रह्याे । विश्वकपको फाइनल आइतबार लर्ड्समा हुनेछ । विश्वकप क्रिकेट २०१९ को उपाधि न्यूजिल्याण्ड वा इंग्ल्याण्ड जसले जिते पनि नयाँ विजेता हुने पक्का भएको छ ।
