विश्वकप फुटबल : माेरक्काे र पाेर्चुगलकाे जीतसंगै क्वार्टरफाइनल खेलका समिकरण पूरा
इन्भेष्टाेपेपर । मंसिर २१, २०७९
काठमाण्डौ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा उपाधि दाबेदार स्पेनलाई पेनाल्टी शुट आउटमा हराउँदै मोरक्को र स्विट्जरल्याण्डलाई फराकिलो गोल अन्तरले हराउँदै पोर्चुगल विश्व कप फुटबलको क्वाटरफाइनलमा पुगेको छन्।
कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा मोरक्कोले स्पेनलाई पेनाल्टी शुट आउटमा तीन-शून्यले हरायो । निर्धारित ९० मिनेट र थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो । पेनाल्टी शुट आउटमा स्पेनका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् ।
यसैगरि कतारको लुसइल रङ्शालामा आज भएको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । उनले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गरे । त्यसैगरी खेलको ३३औँ मिनेटमा पेपे, ५५औँ मिनेटमा राफेल गुरेरियो र राफेल लियोले खेलको अतिरिक्त समयमा गोल गरेका थिए । स्वीट्जरल्याण्डका लागि ५८औंँ मिनेटमा म्यानुअल अकाञ्जीले एक मात्रै गोल फर्काएका थिए । अन्तिम आठमा पुगेको पोर्चुगलले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।
विश्वकप फुटबलमा अन्तिम–१६ का खेल सकिएका छन् । अब क्वाटरफाइनलमा पोर्चुगल र मोरक्को, ब्राजिल र क्राेएशिया, अर्जेन्टिना र नेदरल्यान्ड्स तथा इंग्ल्यान्ड र फ्रान्स खेल्ने भएका छन् ।
