विश्वकै लामो झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला

इन्भेष्टोपेपर ।  श्रायण १७, २०७७ 

बागलुङ : बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।   कोरोना संक्रमणको त्रासका कारण  चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न भएको थियो । 

कोरोना जोखिमलाई ध्यानमा राखेर पुल सर्वसाधारणका लागि खुला गरिएको थिएन । निर्माण सम्पन्न भएको चार महिनासम्म पनि पुल सञ्चालनमा नल्याएको गुनासो हुन थालेपछि शुक्रबारदेखि पुल सञ्चालनमा ल्याइएको हो  । खुल्ला गरिएको पहिलो दिनमै झोलुंगे पुल अवलोकन गर्न आउनेको भीड लाग्यो । 

दिनभर सयौँको संख्यामा सर्वसाधारणहरु पुुलमा आवतजावत गर्ने, फोटो खिच्ने गर्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै केही स्थानीयले चिन्ता व्यक्त गरे। कुनै सुरक्षा सचेतता नअपनाई पुल सञ्चालनमा ल्याउँदा कोरोना संक्रमणको जोखिम बढेकाले  तत्काल स्वास्थ्य सुरक्षा सचेतता र समन्वय आवश्यक रहेको सामाजिक अगुवा खिमानन्द कँडेलले बताए ।  

बागलुङ नगरपालिकाका वरिष्ठ योजना अधिकृत तथा सूचना अधिकारी युक्तप्रसाद नागरिकको चाहना र दबाब बढी भएकाले पुल तत्काल सञ्चालनमा ल्याइएको बताए । ‘हामी सुरक्षा पोस्ट व्यवस्थापन गरेर मात्रै चलाउनु पर्छ भन्नेमा थियौँ यसका लागि केही समय लाग्थ्यो’ उनले भने‘नागरिकको चाहनाले खोलियो तर पहिलो दिनमै अत्यधिक भीड बढ्यो।’ व्यवस्थापन गर्नु पर्ने र थप सतर्कता अपनाउनु पर्ने देखिएको उनले बताए। 

पुलमा हेर्न जाने अधिकांशले मास्कको समेत प्रयोग नगरेको पाइएको छ । पुलमा खटिएका प्रहरी भने मुकदर्शक बनेका थिए । बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले पुल खुल्ला गरेकै दिनमा नागरिकको अत्यधिक भीड आएको सूचनापछि नियन्त्रण गर्नका लागि प्रहरी खटाएको जानकारी दिए । प्रहरीले पनि तत्काल केही गर्न सक्ने अवस्था  नरहेकाले बागलुङ नगरपालिकासँग थप समन्वय गरेर पुल सञ्चालन गरिने प्रजिअ न्यौपानेले बताए। 

पुल सञ्चालनमा आएपछि बागलुङ र पर्वत हुँदै म्याग्दी, मुस्ताङ जाने पर्यटकलाई समेत पुलले आकर्षित गर्नेछ । यो पुल विश्वकै लामो भएको बागलुङ नगरपालिकाले दाबी गरेको छ । यस पुलको लम्बाई ५७६ मिटर छ । 

नगरपालिकाले यसको विश्व रेकर्ड कायम गर्नका लागि समेत सम्बन्धित निकायमार्फत पहल थालेको छ । सुरुमा एशियाकै लामो रहेको भने पनि सस्पेन्सन बृज डिभिजन कार्यालयको रेकर्डमा खुल्ला प्रकृतिको झोलुङ्गे पुल विश्वभर हालसम्म ४९८ मिटर भन्दा बढीको नभएको इञ्जिनियर हुमाकान्त मिश्रले जानकारी दिए। 

२०७६ फागुनमै सक्ने भनिएको पुल दुई वटा राजमार्ग माथिबाट लठ्ठा तान्दा समय लागेको थियो । निर्माण कम्पनीले पर्वत र बागलुङतर्फका दुवै राजमार्गमा रोकावट नहुने गरी चिनियाँ प्रविधिको औजारले लठ्ठा तानेको थियो । 

२०७५ चैतदेखि शुरु भएको पुल निर्माण कार्य २०७७ साल असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि तीन महिना अगावै पुल निर्माण सम्पन्न भएको थियो । पहिलो पटक निर्माण थालिएको लामो पुल निर्माणमा ठूलो चूनौती भए पनि सबैको सहकार्यमा निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ। 

पुलको एक साथ ८५ मेट्रिक टन क्षमता रहेको छ । ६१२ जनासम्म यसले थेग्न सक्ने बतायएको छ ।  पुल निर्माण पछि एक घण्टा बढी पैदल यात्राबाट मात्रै पुग्न सकिने पाङमा १० मिनेटमै पुग्न सकिने भएको छ । वि.स २०५९ सालदेखि पुल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको भए पनि लठ्ठा तान्न नसक्ने भन्दै काम शुरु हुन सकेको थिएन । 

बराष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलको विशेष पहलमा रु.४० लाखमा लठ्ठा तान्ने औजार चीनबाट खरिद गर्न अर्थमन्त्रालयले स्वीकृति दिएपछि पुल निर्माण थालिएको थियो । अत्याधुनिक उपकरणबाट पुलका लठ्ठा तानेको नेपालमा पहिलो पटक हो । 

सस्पेन्सन वृज डिभिजन कार्यालयले ४ सय मिटर भन्दा लामो पुल निर्माण गर्दा अबदेखि यही औजारको सहायता लिनेछ । अहिलेसम्म नेपालमा ७ हजार ५ सयभन्दा बढी झोलुङ्गे पुल छन् । शुरुमा रु.१२ करोड २२ लाख  लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने मेसिन मन्त्रालयले उपलब्ध गराउने भएपछि रु.६ करोड ९१ लाखमा सम्झौता भएको थियो । याे समाचार अन्नपूर्ण पाेष्टमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *