सुनको कोटा बढाउन व्यवसायीको दौडधुप

इन्भेष्टाेपेपर । माघ २८ २०७७

काठमाडौं । सुन आपूर्तिमा लगाइराखिएको कोटा बढाउन व्यवसायीले संस्थागत लबिङ थालेका छन् । हाल सरकारले उपलब्ध गराउँदै आएको सुनले बजारको माग धान्न नसकेको भन्दै उनीहरूले आयात बढाउन माग गरेका हुन् । हाल वाणिज्य बैंकमार्फत दैनिक १० किलो सुन आयात हुँदै आएको छ । यस परिमाणले बजारको मागअनुसार पूर्ति नभएको भन्दै यसलाई बढाउनका लागि व्यवसायीले सुनचाँदी तथा गरगहना क्षेत्रका विभिन्न संघमार्फत लबिङ गरेका हुन् ।

अत्यधिक सुन आयातका कारण देशको व्यापारघाटा उच्च भएपछि सरकारले २०६७ सालदेखि सुन आयातमा नियन्त्रण गर्न थालेको हो । नेपाल राष्ट्र बैंकले सुन आयात तथा विक्री वितरणसम्बन्धी कार्यविधि जारी गर्दै वाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउने गरी दैनिक कोटा समेत निर्धारण गरेको छ ।

कार्यविधिअनुसार तोकिएको आयातसम्बन्धी कोटा भने विभिन्न समयमा परिवर्तन हुँदै आएको छ । राष्ट्र बैंकले कोरोना अघिसम्म दैनिक २० किलो सुन आयात गर्न सकिने गरी कोटा निर्धारण गरेको थियो । यसैगरी चाडपर्वको सिजनमा दैनिक २५ किलो सुन आयात गर्न सकिने व्यवस्था गर्दै आएको थियो । कोभिड–१९ को महामारी सुरु भएसँगै सरकारले विदेशी मुद्राको खर्चमा मितव्ययी हुनका लागि दैनिक १० केजी मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको छ ।

सुन आयात बढाउनका लागि महासंघका पदाधिकारीले सोमबार नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रसँग भेटघाट गरेका थिए । यसअघि उनीहरूले नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग समेत भेटेर सुन आयात कोटा बढाउन माग गरेका थिए ।

सोमबार राष्ट्र बैंकसँग भएको भेटमा सुन आयात र बिक्री वितरण प्रभावकारी बनाउनेबारे छलफल भएको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिए । “राष्ट्र बैंकले सुन आयात र वितरणको विषयमा कार्यविधिमार्फत नै जारी गरेपछि कार्यान्वयन पक्ष फितलो छ,” उनले भने, “जारी गरेको सर्कुलरअनुसार काम भए नभएको अनुगमन गरी त्यसलाई ब्यवस्थित गर्ने प्रतिवद्धता पाएका छौं ।”

कार्यविधिमा बैंकहरूले महासंघको सिफारिसमा मात्र सुन बिक्री गर्नुपर्ने र उक्त सुन व्यवसायीले गरगहना बनाएर मात्र बिक्री गर्नुपर्ने व्यवस्था छ । यसैगरी उपत्यका र उपत्यका बाहिरका व्यवसायीका लागि छुट्टाछुट्टै कोटा समेत तोकिएको छ । व्यवसायीहरूले ढिक्का सुन बिक्री गर्न नपाउने व्यवस्था कार्याविधिमा गरिएको छ । तर, यसबारेमा प्रभावकारी अनुगमन नभएकाले कार्यविधिका प्रावधानहरू पालना नभएको र बैंकहरूले आफुखुशी सुन बिक्री गरेको व्यवसायीको आरोप छ ।

व्यवसायीसँगको भेटमा राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक मिश्रले तोकिएका नाकाहरूवाट पनि सरल र सहजरुपमा सुन वितरणको ब्यवस्था मिलाउन, सिफारिस विना नै सुन विक्री गर्ने गरिएको भए त्यसलाई नियन्त्रण गर्न, आपूर्तिमा लागू हुँदै आएको कोटाको सिमा पुनरवलोकन गर्नबारे प्रतिवद्धता जनाएको महासंघले विज्ञप्तिमार्फत जनाएको छ ।

राष्ट्र बैंकले कोटा घटाए पनि चालू आर्थिक वर्षको ६ महिनामा सुन आयात ५२।६ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको पुससम्ममा ८ अर्व रुपैयाँ बराबरको सुन आयात भएकोमा चालू आवको पुससम्ममा १२ अर्व २१ करोड रुपैयाँ बराबरको आयात भएको छ । (आजको कारोबार दैनिकबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *