कविता : ओखलढुंगा

— युगकवि सिद्धीचरण श्रेष्ठ

तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल बक्षस्थलमा,
यो कविको शैशवकाल बित्यो,
हाँस्यो खेल्यो वन(कुन्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा !

जब म चढेर भावको डुंगा
सयर गर्छु स्मृतिको प्रिय गंगा
स्वप्न गगनबाट सुशीतल जल
सुख(स्मृतिको बर्सिन्छ रिमझिम
मेरो प्यारो ओखलढुंगा !

कुसुमाकरको आँचल पक्री
मलाई कति खोज्दी हुन् प्रकृति,
मृग सावकहरू उफ्री – उफ्री
तरुतलिकाहरु हल्ली हल्ली,
मेरो प्यारो ओखलढुंगा !

ती अविरल परिश्रमी पतकार
द्रुतगामी निर्झर तुल्य चपल,
बहँदै वनवनमा चारैतिर
खोज्दा हुन् मेरो पथको पथ !
मेरो प्यारो ओखलढुंगा !

पर्दावाल सुन्दर पल्लवित्
वृक्ष खोपिमा, कालो कोकिल्
उनको यो वियोग प्रिय कविको
कति मृदु विरह गीत रच्दो हो !
मेरो प्यारो ओखलढुंगा !

त्यो ढुङ्गा, त्यो खोला, त्यो रुख्,
त्यो बन्, त्यो लतिका, त्यो चिर मुख्
यो हृदय केन्द्र स्नेह तडित्
चम्काइरहेछ आज क्षण क्षण
मेरो प्यारो ओखलढुंगा !

तामाकोशी, त्यो सुनकोसी
त्यो गिरि फोरी बहने रोशी
मेरो हृदयको तिम्रो चित्र
पारिरहन्छ हर्दम पवित्र
मेरो प्यारो ओखलढुंगा !

भाग्य – लहरामा लहरी लहरी
पुगें म यस मरूस्थलमा कसरी ?
तर खेद छैन तिम्रो आकृति
लेखिएको छ यो हृदयभरि ;
मेरो प्यारो ओखलढुंगा !

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *