दुबईमा अलपत्र नेपाली नेपाल एअरलाइन्सको जहाजबाट आउँदै

इन्भेष्टोपेपर । भाद्र ०७, २०७७ 

काठमाडौं । चार्टर उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आइतवार विहान दुबई उडेको निगमको जहाज दिउँसो ४ : १५ बजे काठमाडौं आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौं आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।     
     
 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौं–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो । निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौंका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौंमा क्वारेन्टाइनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगन गरेको थियो । 

उक्त दिन दुबईबाट काठमाडौं उडानका लागि टिकट लिइसकेका यात्रुका लागि आइतवार उडान गरिएको निगमले बताएको छ । त्यस दिन काठमाडौंबाट २३५ यात्रु तथा १५ टन कार्गो लिएर गएको निगमको वाइडबडी जहाज दुबईबाट रित्तै काठमाडौं फर्किएको थियो ।     
     
 जहाज रित्तै फर्केपछि सम्बन्धित निकायको चौतर्फी आलोचना भएको थियो । उडानका लागि दुबई विमानस्थलमा तयारी अवस्थामा रहेका यात्रु अलपत्र परेका थिए । हालैको मन्त्रिपरिषद् बैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको थियो । मन्त्रिपरिषद्को यही बिहीवार बसेको बैठकले भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।     
     
 कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने र त्यस्तो उडान दैनिक ५०० यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय गरिएको छ । त्यस प्रयोजनका निम्ति संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयलाई उडान तालिका बनाउने जिम्मेवारी दिइएको छ ।     
     
 सरकारी निर्णयानुसार पिसीआर परीक्षण सहज भएका मुलुकहरु मलेशिया, यूएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयानुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्र संघका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गरिनेछ ।     
     
 बैठकले पीसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत यात्रु ल्याउन नपाइने निर्णय गरेको छ । नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर उडान गरिनेछ ।     

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार आइतवार विभिन्न मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन चार ओटा अन्तरराष्ट्रिय उडान हुँदैछन् । नेपाल एयरलाइन्सको दुबई र हिमालय एयरलाइन्सको चीनको कुनमिङमा दुई ओटा उडान हुनेछ । हिमालयका दुवै जहाज राति गन्तव्यतर्फ उड्ने विमानस्थलले बताएको छ । रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *