दिगो विकास लक्ष्यबारे तरिका बदल्न योजना आयोगकाे सुझाव

इन्भेष्टोपेपर । भाद्र ९, २०७

काठमाडौँ ।  राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य प्राप्तिका लागि नयाँ तरिकाले अघि बढ्न सुझाव दिएको छ । अहिलेकै तौरतरिका र ढाँचाबाट अघि बढेमा मुलुकको दिगो विकास लक्ष्य प्राप्तिमा कठिनाइ हुने पनि आयोगले जनाएको छ ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा मङ्गलबार आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले राजनीतिक नेतृत्वको दीर्घकालीन सोच, कर्मचारीमा सुझबुझपूर्ण योजना निर्माण, ठेकेदारमा समय सीमाभित्र गुणस्तरीय निर्माण गर्ने प्रणाली विकसित हुन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले दिगो विकास लक्ष्यको कार्यान्वयनका सबै रणनीतिक योजना र परिचालनका क्रियाकलामा संलग्न सबै संस्था र सङ्गठनमा नवप्रवद्र्धन गर्न सक्ने नेतृत्व र व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै आयोगले राजनीतिक नेतृत्वबाट मात्र त्यस्तो काम सम्भव हुने निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

विश्वका सबै राष्ट्रमा सहभागितामूलक, अधिकारमुखी र समतामूलक विकास गरी गरिबी र भोकमरी अन्त्य गर्ने तथा सबैलाई स्वास्थ्य एवं शिक्षा पु¥याउने, लैङ्गिक समानता, सबैका लागि स्वच्छ पानी, सबैमा ऊर्जाको पहँुच, रोजगारी प्रवद्र्धन, आर्थिक वृद्धि, उद्योग, पूर्वाधार विकास र दिगो सहरीकरणजस्ता विषय पनि उक्त लक्ष्यमा समेटिएको छ ।

योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले दिगो विकास लक्ष्य प्राप्तिमा राजनीतिक नेतृत्वले अहिले अभ्यासमा रहेको काम गर्ने तरिका र ढाँचाबाट अघि बढ्न खोजेमा त्यो सम्भव नहुने सुझाव दिनुभयो ।

बैठकमा समितिका सदस्य वामदेव गौतमले दिगो लक्ष्य प्राप्ति गर्ने सन्दर्भमा राष्ट्रिय सभाले केकस्ता काम र भूमिका निर्वाह गर्न पर्ने हो त्यसका लागि तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।
अर्का सदस्य दीननाथ शर्माले इच्छाशक्ति, राज्यशक्ति, श्रम र पैसा हुँदासमेत विकास र पूर्वाधार निर्माणमा लक्ष्य नभेटाउनु भनेको राष्ट्रप्रतिको समपर्ण र क्षमताको कमी त होइन भनी जिज्ञासा राख्नुभयो ।

उहाँले भन्नुभयो, “अर्थ र राजनीतिक एक–अर्काका पुरक हुन्, हाम्रा सडकसँग गाउँका उत्पादनलाई जोड्न सक्नुपर्छ, हाम्रो शिक्षा जागिर र विदेश यात्रासँग सीमित भएकाले उत्पादनसँग जोड्न सकिए, तीन तहका सरकारबीच समन्वयको संयोजन गर्ने कार्यमा राष्ट्रिय योजना आयोगले भूमिका खेलोस् ।

सभापति तारादेवी भट्टले दिगो विकासका लक्ष्य प्राप्तिका लागि आयोगले प्रभावकारी अनुगमन र कार्यान्वयनको लेखाजोखा गर्ने मामिलामा प्रभावकारी भूमिका खेल्न सकोस् भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१५ सेप्टेम्बरमा २०१६ देखि २०३० सम्ममा विश्वको रूपान्तरण र विकासका हरेक आयाममा कसैलाई पनि पछाडि नछोड्ने प्रतिबद्धतासाथ दिगो विकासका लक्ष्य घोषणा गरेको थियो । उक्त घोषणामा १७ वटा लक्ष्य, १६९ वटा परिमाणात्मक लक्ष्य र २३२ विश्वव्यापी सूचकाङ्क निर्धारण गरिएका छन् । दिगो विकास लक्ष्यमा सामाजिक, आर्थिक र पर्यावरणीय आयाम छन् । याे समाचार गाेरखापत्र दैनिकबाट लिइएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *