हिमपहिरोका कारण रसुवामा बाढी आएको हुन सक्ने आशंका

इन्भेष्टाेपेपर । भाद्र ११, २०८३

काठमाण्डौ । रसुवामा आएको भीषण आकस्मिक बाढी उच्च हिमाली क्षेत्रमा भएको हिउँ–चट्टानको हिमपहिरोका कारण आएको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान तथा ठूला ढुङ्गासहितको शक्तिशाली बहाव आएकाले तल्लो तटीय क्षेत्रमा थप जोखिम हुन सक्ने भन्दै विज्ञहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

हिजो बिहान झण्डै ९ बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ्न थालेको थियो । बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकहरूले घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् ।

भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्याङ्कनअनुसार ठूलो परिमाणमा हिउँ र चट्टानको गेग्रान भोटेकोशी नदीको सहायक नदी ल्हेन्दे खोलामा खसेको हुन सक्ने देखिएको छ ।

अनुसन्धानकर्ताका अनुसार यो घटनाले अचानक ठूलो बहाव सिर्जना गरेपछि पानी, गेग्रान र ठूला ढुङ्गा तल्लो तटीय क्षेत्रमा बगेको हुन सक्छ । जलविज्ञानसम्बन्धी अवलोकनले बाढीको गति र परिमाण असाधारण रहेको देखाएको छ ।

गल्छीमा त्रिशूली नदीको पानीको सतह ३० मिनेटमै नौ मिटरसम्म बढेको थियो भने मलेखुमा त्यही अवधिमा सात मिटरसम्म बढेको थियो । त्रिशूली नदी किनारमा रहेका धेरै पानी मापन केन्द्र बाढीका क्रममा क्षतिग्रस्त भएको छ ।

गल्छीको पानी मापन केन्द्र भने सञ्चालनमै रहेको इसिमोडले जनाएको छ । विशेषज्ञहरूले गेग्रानका कारण नदीको साँघुरो भागमा अस्थायी रूपमा नदी थुनिएर  बाँध बनेको थियो कि थिएन भन्ने विषयमा समेत अध्ययन गरिरहेका छन् ।

यस्तो अवरोधका कारण पानी जम्मा भई अचानक बाहिर निस्किएमा दोस्रो चरणको बाढीको जोखिम उत्पन्न हुन सक्ने भएकाले सम्भावित अवरोधको आकार, स्थान र स्थायित्वबारे अधिकारी तथा वैज्ञानिकहरूले निरन्तर मूल्याङ्कन गरिरहेका छन् ।

विपद्का समयमा रेकर्ड गरिएका भूकम्पीय तथ्याङ्कको प्रारम्भिक विश्लेषणमा समेत असामान्य सङ्केत देखिएको छ । प्रभावित क्षेत्रबाट उत्तरतर्फ झण्डै १२ किलोमिटर टाढा जिलुङमा रहेको भूकम्पमापन केन्द्रले असामान्य सङ्केत रेकर्ड गरेको थियो ।

वैज्ञानिकहरूले ती भूकम्पीय सङ्केत सम्भावित हिमपहिरोसँग सम्बन्धित छन् कि छैनन् भन्नेबारे अध्ययन गरिरहेका छन् । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *